समाज

बालुवाले छोपेर ९ क्विन्टल गाँजा भारत तस्करी, एक पक्राउ

बालुवाले छोपेर भारत तर्फ लैजान लागिएको गाँजासहित टिपर र चालकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका-७ कल्याणपुरबाट तयारी गाँजा बोकेको १ ख ५८३१ नम्बरको टिपरसहित चालक धनकुटाको सहिदभूमि गाउँपालिका-४ का ३२ वर्षीय विशेष राईलाई पक्राउ गरिएको एसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए।

पक्राउ गरिएको टिपरबाट नौ क्विन्टल ५० किलो तयारी गाँजा बरामद भएको एसपी बज्राचार्यले बताए। उक्त परिमाणको गाँजा २८ वटा बोरामा प्याक गरिएको थियो। 

गाँजा सीमावर्ती बेल्ही नाका क्षेत्रको बलान नदी हुँदै भारततर्फ लैजाने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पहाडी क्षेत्रमा भित्रिएर भारत तस्करी हुने तयारी गाँजा अन्तर्राष्ट्रिय बजारमा ३० देखि ३५ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको छ।

सप्तरीको बेल्ही नाका पछिल्लो समय तस्करीको भूस्वर्ग बनेको स्थानीय बताउँछन्। यस नाकाबाट प्याज, कपडा, मदिरा, मट्टर, मरिच, सुर्तीलगातका मालसामान ओसारपसार हुने गरेको बेल्हीका स्थानीयको भनाइ छ।

प्रकाशित: २१ पुस २०८० ०९:०० शनिबार

तयारी गाँजा तस्करी भारत टिपर र चालक सप्तरी प्रहरी