समाज

खप्तडमा केबुलकार चलाउन कस्सिए जनप्रतिनिधी

डोटी  – प्रदेश नम्बर ७ को आर्थिक समृद्धिको आधारको रूपमा हेरिने खप्तडलाई केवुलकारबाट जोड्न अभियान सुरू गरिएको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको खप्तडलाई केबुलकारबाट जोड्ने चर्चा बर्षौदेखि चल्दै आएको छ। सोही चर्चालाई मूर्त रूप दिन ‘नागरिक अभियान’ सुरू गरिएको हो। आइतबार दिपायलमा सुरू भएको ‘७ नम्बर प्रादेशिक महोत्सव’को उद्घाटन सत्रबाट उक्त अभियानको थालनी गरिएको छ। 

डोटी दिपायलसिलगढी नगरपालिकाको–४ का वडाध्यक्ष बिरेन्द्र शाहले उक्त अभियानको थालनी गरेका हुन्। ‘खप्तडमा केवुलकार निर्माण गर्ने भनेर सरकारी र निजी क्षेत्रले बेला–बेलामा चर्चामात्र गरे। नेताहरूले चुनाव जित्ने एजेण्डा मात्रै बनाए। तर काम सुरू भएन,’ वडाध्यक्ष शाहले भने, ‘अब नागरिक स्तरबाटै केही गर्नुपर्छ भन्ने लागेर अभियान सुरू गरेका छौ।’ केवुलकार निर्माणका लागि सबै पक्षबाट सहयोग पाउने आफूहरूको विश्वास रहेको पनि उनले बताए। 

केबुलकार संचालनका लागि खुत्रुकेमार्फत आर्थिक सहयोग उठाएर राज्यलाई दबाबमूलक अभियान थालिएको शाहले बताए। ‘दान पेटीकामा दान गर्न चाहनेहरूले १० रुपैयाँदेखी माथि आफूले सकेजति दान गर्न सक्नेछन्’ उनले भने, ‘यो अभियानले राज्यलाई दवाब पुग्ने र यथाशिघ्र केबुलकारको काम हुनेमा आशा लिएका छौ।’ 

अभियान सुदूरपश्चिमका अन्य जिल्लाका साथै राजधानीमा समेत लैजाने उनले बताए। अभियानलाई सफल पार्न अन्य जिल्लामा पनि समन्वय गर्ने काम भइरहेको बताइएको छ। अभियानलाई व्यापक रूपमा लगिने शाहले बताए। महोत्सवको उद्घाटन मञ्च अगाडी राखिएको खुत्रुकेमा दश रुपैयाँ खसाउँदै शाहले सवैलाई केवलकार निर्माण महाअभियानमा सहयोग गर्न आग्रह समेत गरेका छन्।

अभियानलाई समर्थन गर्दै पूर्व सांसद् कल्पना सोवले पनि खुत्रुकेमा दश रुपैयाँ खसाईन्। त्यसपछि दश रुपैयाँभन्दा माथी धेरै सर्वसाधारणले स्वस्फुर्त रूपमा खुत्रुकेमा राखेका थिए।

प्रकाशित: २९ माघ २०७४ १३:४८ सोमबार

खप्तडमा केबुलकार चलाउन कस्सिए जनप्रतिनिधी