समाज

गल्छी–त्रिशुली सडक अब दिउँसोमात्र बन्द

त्रिशुली – चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ। 

फागुन १ गतेदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन भन्दै दिउँसो ११ बजेदेखि ५ बजेसम्म बन्द गरिने भएको गल्छी–त्रिशुली–मैलु–स्याफ्रुबेशी–रसुवागढी सडक योजनाले जनाएको छ। 

यसअघि गएको पुस १ गतेदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो । बिहानको समयमा काठमाडौँ जानेको चाप बढी हुने भएकाले बिहानको सडक बन्द नगर्न नागरिक तथा यातायात व्यवसायीले माग गरेपछि सडक बन्द गरिने समय परिवर्तन गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले बिहानको बन्द हटाएर दिउँसो एक घण्टा थप गरी सडक बन्द गरी निर्माण कार्यलाई अघि बढाउने निर्णय गरेको हो । सडक योजनाले यस अवधिमा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ। धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँशीसम्म ८२ किलोमिटर सडकमध्ये ४६ किलोमिटर क्षेत्र स्तरोन्नतिको काम भइरहेको छ। रु नौ अर्ब लगानी रहेको सो योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ। 

प्रकाशित: २९ माघ २०७४ ०७:३२ सोमबार

गल्छी–त्रिशुली सडक अब दिउँसोमात्र