समाज

ज्येष्ठ पत्रकार पेन्सन योजना तत्काल कार्यान्वयनमा लैजान समितिको आग्रह

वीरगन्ज महानगरपालिकाको आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिको आज सम्पन्न बैठकले ज्येष्ठ पत्रकार पेन्सन योजनाको कार्यविधि तयार भइसकेको हुँदा त्यसलाई नगर परिषदबाट पारित गरेर कार्यान्वयनका लागि लैजाने निर्णय गरेको छ।

बैठकले सञ्चारकर्मीहरूका सूचना विज्ञापन प्रकाशन बापत लेखा शाखामा रोकिएको भुक्तानीको लागि आवश्यक समन्वय गरी तत्काल भुक्तानी गराउने निर्णय गरेको छ।यसैगरी बैठकले महानगरपालिकाबाट जारी हुने सूचना विज्ञापनहरू एकद्धार प्रणालीबाट वितरण गर्ने र सूचना शाखाबाट समानुपातिक ढंगले सूचना र विज्ञापन वितरण गरी भुक्तानीका लागि सूचना शाखाको सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ।

बैठकले सूचना शाखाको जानकारी बिना सूचना टेन्डरहरू जाने गरेको देखिएको हुँदा अन्यथा यस्ता गतिविधिको जबाफदेही समिति नहुने निर्णय गरेको छ।

यसैगरी बैठकले लोक कल्याणकारी विज्ञापनको दोस्रो त्रैमासिक भुक्तानीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ।

आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्य अनुप तिवारी,राम शर्राफ, मनोज पटेल, माधुरी महतो, अमित अग्रवाल, आबिद हुसैन, बृजलाल पासवान, महानगरपालिकाका प्रशासन प्रमुख राजकृष्ण ताम्राकार,प्रकाशन प्रसारण तथा सूचना शाखा प्रमुख एवं समितिका सदस्य सचिव हरिओम प्रसाद चौधरी,कानुन अधिकृत ईश्वर बराल लगायतको सहभागिता रहेको थियो। 

प्रकाशित: १८ पुस २०८० ०९:१५ बुधबार

वीरगन्ज महानगरपालिका ज्येष्ठ पत्रकार पेन्सन आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समिति ध्रुव अधिकारी बिना सूचना टेन्डर