समाज

नक्कली ‘फेसबुक आइडी’ बनाई बार्गेनिङ गर्दा पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर अश्लील सामग्री बनाई पैसा माग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। 

महिलाको नाममा नक्कली फेसबुक आइडी बनाइ पुरुषलाई भिडियो कल गरेर अश्लील भिडियो देखाउने र त्यसलाई स्क्रिन सर्ट गरी सो व्यक्तिसँग पैसा माग्ने तीन जनालाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा–२९ तालचोक बस्ने २२ वर्षीय अनुराग अधिकारी, चितवनको रत्ननगर–१३ टाँडीका २० वर्षीय प्रवेश रिमाल र सिराहाको लाहान–१ रमाद मटियवरा टोलका २१ वर्षीय यूनिक सिंह रहेका छन्।

उनीहरुले भिडियो कलमा देखाइएको अश्लील सामग्री स्क्रिन सर्ट गरेर सोही व्यक्तिलाई पठाई पैसा माग्ने गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। मागेको पैसा नदिए उक्त अश्लील सामग्री फेसबुक वालमा राखेर सार्वजनिक गरिदिने धाक, धम्कीसमेत दिने गरेको पीडितले दिएको जाहेरीमा उल्लेख रहेको डिएसपी विकले बताए।

पक्राउ परेकाहरुलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर र विद्युतीय अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी विकले जानकारी दिए।

प्रकाशित: १८ पुस २०८० ०९:१३ बुधबार

नक्कली फेसबुक आईडी