समाज

चार दिनदेखि नौबस्ताको बालसुधार गृहमा झडप

बैजनाथ गाउँपालिका–२ स्थित नौबस्तामा रहेको बालसुधार गृहमा शुक्रबारदेखि जारी तनाव ग्रस्त अवस्था नियन्त्रणमा आउन सकेको छैन। दुई समूहमा विभाजित भएका उनीहरूबीच विवाद उत्पन्न हुँदा शुक्रबार झडप भएको थियो।

उक्त झडपमा ६ जना बालबन्दीहरु घाइते भएका छन् भने एउटा सरकारी गाडीमा समेत तोडफोड भएको थियो। शुक्रबारदेखिनै तनावग्रस्त अवस्था नियन्त्रणमा लिने भएका प्रयासहरू विफल भएका छन्। सुरक्षा निकायले एक समूहसँग गरेको सहमति अर्को समूहले कार्यान्वयन नगर्दा यहाँको अवस्था नियन्त्रणमा आउन नसकेको हो। अहिले उनीहरूले सुधार गृहमा होहल्लासँगै तोडफोड गरिरहेका छन्।

थप अवस्था बिग्रिन नदिन नेपाल प्रहरी परिचालन भएको सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जनाए। ‘झगडा हुन नदिन प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘प्रहरीलाई सशस्त्र प्रहरीले सहयोग गरिरहेको छ।’ अवस्था सामान्य नभएपछि वार्ताका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाखरेल, प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरालगायतको टोली घटनास्थल पुगेको छ। साथै सोमबार (आज) महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले उक्त बाल सुधार गृह उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको छ।

यस बाल सुधार गृहमा १८ वर्षभन्दा माथिकालाई राखिएको छ। केही समय अघि मात्र सञ्चालनमा आएको उक्त बाल सुधार गृहमा एक सय १६ जना बन्दीहरू छन्।

प्रकाशित: १६ पुस २०८० ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App