समाज

जातीय भेदभावको आरोपमा एक पक्राउ

ताप्लेजुङ – जातीय भेदभावको आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

‘तल्लो र माथिल्लो जात’का नाममा हुने गरेको छुवाछुतका कारण आफू सामाजिक र कानूनी अन्यायमा परेको भन्दै दर्ता जाहेरी भएपछि प्रहरीले फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ साविक लिङखिमको दिबुङका प्रेमप्रसाद निरौलालाइ नियन्त्रणमा लिएको हो। 

आठराई त्रिवेणी गाउँपालिका वडा नं ४ चाँगे निवासी सन्त बराईलीले आफूमाथि जातीय भेदभाव र अपमान भएको भन्दै बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि निरौलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

शिक्षक पेशाबाट अवकाश लिई सेवा प्रमाणित कागज लिन फक्ताङलुङ गाउँपालिकाको खेजेनिम प्रावितर्फ जाने सिँवा बजार छेउ दिबुङस्थित चन्द्रप्रसाद निरौलाको घरमा पुगी चिया खाइरहेका दुई जना मान्छेसंग चिया माग्दा तल्लो र माथिल्लो जात भनि अपहेलना गरेको बराईलीको आरोप छ।

यता आरोपित निरौलाले भने घरमा दूध सकिएकोले कालो चिया पकाएर दिँदा घरकाले एकथरी खाने दलितलाई अर्कै दिने भन्दै बराईलीले आफूमाथि आरोप लगाएको दाबी गरेका छन्।

प्रकाशित: २५ माघ २०७४ ११:५७ बिहीबार

जातीय भेदभावको आरोपमा पक्राउ