समाज

बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडिँदै

बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाड्ने तयारी भएको छ। बालकुमारी घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई मुद्दा नै नचलाई छाड्न लागिएको हो।

शुक्रवार प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई प्रहरीले मुद्दा नचलाउने भएको हो।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा उत्पादनमुल क्षेत्रमा आवेदन दिन पाउनुपर्छ भन्दै प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए। ‘अहिलेलाई सामान्य सोधपुछपछि छाड्ने निर्णय भएको छ’, एआइजी थापाले भने।

पानीजहाजसम्बन्धी कामका लागि गत साउनमा लिइएको भाषा परीक्षामा सामेललाई पछिल्लो पटक माग गरिएको ‘उत्पादनमूलक’ क्षेत्रमा खुला गरिएको आवेदनबाट वञ्चित गराइएपछि ग्वार्को–बालकुमारी सडक अवरुद्ध पारेर प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले  बल प्रयोग गर्दा शुक्रवार दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो। जसले गर्दा सरकारको चर्को आलोचना भएको थियो। 

भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको थियो। तर जनस्तरबाट सरकारको चर्को आलोचना भएपछि उनीहरुलाई छाड्न लागिएको हो।

प्रकाशित: १५ पुस २०८० ०४:५९ आइतबार

बालकुमारी घटना बालकुमारी घटना ७३ जना मुद्दा रोजगार अनुमति प्रणाली इपिएस कोरिया पानीजहाज