समाज

आगलागीबाट लाखौंको क्षति

मंगलबार राति लागेको आगोले ध्वस्त हुँदै घर । तस्विरः महेश्वर

उदयपुर – उदयपुर सदरमुकाम गाईघाट बजारमा आगलागी हुँदा लाखौंको क्षति हुन पुगेको छ । सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाटको पुरानो तरकारी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति आगलागी हुँदा एकतले पक्की र माथिल्लो तला काठले बनेको टायलको छानावाल घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

राति ९ः३० बजे विद्युत सर्ट हुन गई माथिल्लो तलामा एक्कासी लागेको आगोले ६ कोठे अद्र्धपक्की घर जलेर नष्ट हुँदा घरभित्रका महत्वपूर्ण कागजात, लुगाफाटा, भाँडाकुँडा, गरगहना र अन्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगोले माथिल्लो दुवै तला र लाखौंको काठ जलेको छ । प्रहरीका अनुसार घरमा प्रयोग भएको ५ लाखभन्दा धेरैको काठसहित १२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

माझखर्क अफसेटदेखि दक्षिण छिर्ने शाखा बाटोछेउमा पर्ने कम्पाउण्ड घेरिएको उक्त घर धरान–चताला–गाईघाट–कटारी–हेटौडा सडक डिभिजन कार्यालय सामुन्ने रहेको छ । कम्पाउण्ड घेरिएको तथा समयमै उद्धारकर्मी आएका कारण नजिकमा अन्य घरमा भने क्षति पुग्न नपाएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । आगलागी भएलगत्तै एसपी भट्टकै नेतृत्वमा आएको ५५ सदस्यीय प्रहरी, सशस्त्रको टोलीले स्थानीय र नगरपालिकाको दमकलको १०ः४५ बजेसम्म प्रयास गर्दाै आगो नियन्त्रणमा आएको हो ।

ठूलो घरमा धेरै आगो फैलिएका कारण दमकलको पानी आगो निभाई नसक्दै सकिएपछि पुनः पानी लिन जाँदा नालीको पानी ग्यालेनबाट ओसारेर प्रहरी र सशस्त्रले आगो निभाउने काम जारी राखेका थिए । आगो निभाउने क्रममा छतबाट लडेर एक सशस्त्र जवान सामान्य घाईतेसमेत भएका छन् ।

कृषि विकास बैंकका जागीरे दनुवार परिवार र अन्य भाडावाल मान्छे घरभित्रै रहे पनि आगलागीबाट सकुशल रहेका छन् । लोडसेडिङका बेला राति अवेर भएको आगलागीले पूरै गाईघाट बजार उज्यालो बनाएपछि सुतिसकेका बजारबासीसमेत निस्केर दौडदै घट्नास्थल पुगेका थिए । स्थानीयको चापले उद्धारकर्मी प्रहरीलाई आगो निभाउनसमेत कठिन परेपछि प्रहरीले बल प्रयोग गरेर जमात हटाउनुपरेको थियो ।

 

 

प्रकाशित: २४ माघ २०७४ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App