समाज

विशेष अदालतबाट छ महिनामा ५८ मुद्दा फर्छ्योट

काठमाडौँ (रासस)- विशेष अदातलले अत्यन्त न्यून मात्रमा मुद्दा फछ्र्योट हुने गरेको पाइएको छ।
तीन सय २० मुद्दामध्ये साउनयता छ महिनामा करिब ६० मुद्दा मात्र फर्छ्योट भएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए। उनका अनुसार गत आव २०७३/७४ का २३२ बाँकी र चालु आव २०७४/७५ का ८८ मुद्दामा ५८ वटा फर्छ्योट भएको हो।
अदालतका उपरजिष्ट्रारसमेत रहेका पोखरेलले अदातलमा यस वर्ष निर्वाचनको कारणले कम मात्र मुद्दा फर्छ्योट भएको बताए। ‘‘विशेष अदालतमा दायर हुने मुद्दाको प्रकृति पनि अलि गम्भीर प्रकारको हुन्छ’’ उनले भने, ‘‘एउटै मुद्दा फछ्र्योट गर्नका लागि धेरै दिन लाग्छ। त्यसैले मुद्दा फर्छ्योट गर्न ढिलाइ भएको हो ।’’ अदालतले गत पुस मसान्तसम्म ४९ र माघमा नौ मुद्दा मात्र फर्छ्योट गरेको हो।

अदालतमा दुई वर्ष नाघेका १८, एक वर्ष छ महिनादेखि दुई वर्षसम्मका ४० र एक वर्ष ६ महिनासम्मका २०८ मुद्दा छन् । अदालतले सम्पत्ति शुद्धीकरण, राज्यविरुद्धका अपराध र भ्रष्टाचारसम्बन्धी मुद्दा मात्र हेर्ने गरेको छ । अहिले दुई इजलास रहेको विशेष अदालतमा अध्यक्ष बाबुराम रेग्मीसहित पाँच सदस्यले फैसला गर्ने गरेका छन् । विसं २०५९ मा स्थापित अदालतमा सरकारवादी मुद्दा मात्र दर्ता हुने गरेका छन्।
 

 

प्रकाशित: २३ माघ २०७४ १०:३५ मंगलबार

विशेष अदालतबाट महिनामा ५८ मुद्दा फर्छ्योट