समाज

जहाँ भेटिँदैनन् अविवाहित युवायुवती

लमजुङकाे सैलुङ गाउँ जहाँ भगाएर विवाह गर्ने परम्पराका कारण उमेर पुगेका अविवाहित युवायुवती कमै मात्र भेटिन्छन् । तस्बिर : नागरिक

सबिता खड्का
सैलुङ– मालिङ गाउँपालिका २ सैलुङका रामबहादुर गुरुङ दुई छोरा र दुई छोरीका बाबु हुन् । उनकी जेठी छोरी सात कक्षामा पढ्दै गर्दा १४ वर्षकै उमेरमा भागेर बिहे गरिन् । गुरुङको छिमेकमा बिहे भोज थियो । भोजमा सहभागी हुन छिमेकी गाउँबाट आएका एक युवकले भोजबाटै उनलाई भगाएका थिए । गुरुङकी कान्छी छोरीले पनि ९ कक्षामा पढ्दै गर्दा भागेर बिहे गरेकी थिइन् । 

सैलुङकै ८० वर्षीया उज्याली गुरुङ १० वर्षको उमेरमा मागी बिहे गरेको बताउँछिन् । उनका ४ छोरा र २ छोरी छन् । छोरीमध्ये जेठी मनमायाको १४ वर्षकै उमेरमा र कान्छी पूर्णमायाको १६ वर्षको उमेरमा बिहे भएको थियो । उनी भन्छिन्, ‘उमेर पुगेका युवायुवतीमध्ये विवाह हुनेको भइहाल्छ, नहुनेमध्ये केही रोजगारीको खोजीमा र केही अध्यनका लागि सहर वा विदेश जाने भएकाले गाँउमा १६ वर्षमाथिका युवायुवती देखिँदैनन् ।’ गाउँमा युवायुवती देख्नका लागि दसैं वा विवाहलगायत खास उत्सव कुर्नुपर्ने गुरुङ बताउँछिन्।

अधिकांश गुरुङ र केही मगरका गरी ३० घरधुरी रहेको सैलुङमा १६ वर्ष पुगेका अविवाहित युवायुवती भेट्न मुस्किल पर्छ । स्थानीय माया गुरुङ भन्छिन्, ‘परापूर्वकालदेखिकै युवकले युवती भगाउने परम्पराका कारण १६ वर्ष पुग्नुअघि नै युवती बिहे गरेर भाग्छन् ।’ बिहाबारीमा आएका युवकले मन पराएका युवतीलाई जबरजस्ती लैजाने प्रचलन यथावत रहेको उनी बताउँछिन् । युवक र युवती एकले अर्कालाई मन पराए पनि सानै उमेरमा भाग्ने चलन रहेको गुरुङ बताउँछिन् । यसरी भागी विवाह गरेको अवस्थामा ढोगभेट नगरेसम्म युवती माइत आउन हुँदैन भन्ने परम्परा छ । उनी भन्छिन्, ‘ढोगभेट हुँदा बिहेबारी गरेजस्तै इष्टमित्रलाई बोलाई भोज खुवाएर  विधिपूर्वक ढोगभेट गर्ने प्रचलन छ । गुरुङ संस्कृतिअनुसार फुपु चेला र मामा चेला बिहे गर्ने प्रचलन हुन्छ । यसबारेमा माया भन्छिन्, ‘फुपुको छोरी रोजीरोजी मामाको छोरी खोजीखोजी भन्ने हाम्रोमा भनाइ नै छ ।’ बिहे वा मेला लाग्दा नभागेका युवायुवतीको परम्परागत ढंगले मामा चेला र फुपु चेलासँग विवाह गर्ने प्रचलन रहेको स्थानीयको भनाइ छ। 

गाँउमा आर्थिक अवस्था राम्रो भएकाले भने पछिल्लो समयमा छोराछारीलाई सहरमा पढाउन थालेका छन् । आर्थिक अवस्था राम्रो हुनेले एसएसईपछि छोराछोरीलाई पढाउनका लागि बेसीशहर, डुम्रे, पोखरा तथा काठमाडौं पठाउने गरेका छन् । पढाउन नसक्नेले छोरीको बिहा छिट्टै गरिदिने उनको भनाइ छ । यातायातको समेत सहज पहुँच नभएको सैलुङबाट सदमुकाम पुग्न ६–७ घण्टा पैदल हिँड्नुपर्छ  । विकट हुँदाहुँदै पनि सैलुङ गाउँमा बाहिरबाट गएका पाहुनालाई विशेष स्वागतसत्कार गरिन्छ । गाउँ घुम्न आउने पाउनालाई फूलमालाले स्वागत गरिन्छ भने पाहुनाको मनोरञ्जनका लागि स्थानीयले सांस्कृतिक झाँकी प्रदर्शन गर्ने तथा लोकगीत गाएर नाचगान गर्ने गर्छन् । सांस्कृतिक कार्यक्रम हेरेबापत पाहुनाले सक्दो दक्षिणा प्रदान गर्ने चलन रहेको छ। (प्रशिक्षार्थी) 

प्रकाशित: २३ माघ २०७४ ०७:४१ मंगलबार

जहाँ भेटिँदैनन् अविवाहित युवायुवती