समाज

हलेसी र गाईघाट जोड्न छोटो मार्ग खुल्दै

खोटाङ– खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडक मार्गमा पुल निर्माण हुने भएको छ। उदयपुरको सुनकोसी गाउँपालिका–१ बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको सिमानामा पर्ने सुनकोसीस्थित बतासेघाट ख्रोप्पामा पक्की पुल निर्माणको तयारी थालिएको हो। सडक र पुलका माध्यमबाट हलेसी र उदयपुरको गाईघाटलाई जोडेर आर्थिक संवृद्धि प्राप्तीका लागि सुनकोसी गाउँपालिकाको पहलमा बतासेघाटमा पुल निर्माण गर्न लागिएको हो। सुनकोसीको किनारसम्म खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनिसकेकाले पुल निर्माणको पहल थालिएको सुनकोसी गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताए।

गाउँपालिका प्रमुख किरातीका अनुसार सडक विभाग हुँदै राष्ट्रिय योजना आयोगबाट पुल निर्माणका लागि तोक आदेश भइसकेको छ। हाल झोलुंगे पुल सञ्चालनमा रहेको बतासेघाटमा पक्की पुल निर्माण भए त्रि–धार्मिकस्थल हलेसी र गाईघाट आवतजावत गर्ने सबैभन्दा छोटो हाइवे खुल्ने राईले बताए। ‘गाईघाट र हलेसी जोड्नका लागि यो सबैभन्दा छोटो रुट हुने भएकाले बतासेघाटमा पक्की पुल निर्माणका लागि पहल थालेका हौँ,’ गाउँपालिका प्रमुख राईले भने, ‘तराईबाट हलेसी प्रवेश गर्ने छोटो मार्ग खुल्ने भएकाले बतासेघाटमा पुल बनेपछि हलेसी आउने तराईबासी बाहेक भारतीय भक्तजन समेत यही बाटोबाट हिँड्नेछन्।’ पुल निर्माण भएपछि खोटाङबाट प्रदेशको राजधानी जान आउन समेत सहज र छिटो हुने छ। सुनकोसीको दुबैतर्फ सडक निर्माण भएको वर्षौँ बितेपनि बतासेघाटमा पक्की पुलको अभाव छ। सुनकोसीमा पुल बनेपछि हाल पूर्वी तराई–कटारी–घुर्मी हुँदै हलेसी आउने दर्शनार्थीका लागि गाईघाट–मुर्कुची–पुवाँरे–भालेबास–माझखर्क–सुनकोशी गाउँपालिकाको बतासेघाट–हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको होलेसुङ–जनकराज राई मार्ग हुँदै हलेसी पुग्ने छोटो बाटो खुल्ने गाउँपालिकाले जनाएको छ।

बतासेघाटमा पुल निर्माण भए पछि आवत जावत बाहेक खोटाङ र उदयपुरको आर्थिक, धार्मिक, राजनैतिक, सामाजिक तथा साँस्कृतिक विकासमा टेवा पुग्ने राईले बताए। पुलका कारण ओखलढुंगा–सोलुखुम्बुको सगरमाथा ट्रेकिङ तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । सुनकोसी गाउँपालिकाका कतिपय स्थानीयले काठमाडौं जानेक्रममा उपयोग गर्दै आएको बतासेघाटमा पुल निर्माणका लागि गाउँपालिकाले गत साउन १९ गते भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय समक्ष निवेदन दिएको थियो । सो निबेदनका आधारमा मन्त्रालयले माघ १० गते राष्ट्रिय योजना आयोगको सचिवालय समक्ष योजना समाबेसका लागि पत्राचार गरेको थियो । आगामी जेठसम्ममा पुल निर्माण योजना रेडबुकमा समावेस हुने राईले बताए । बतासेघाटमा पक्की पुल बनेपछि दाजिर्लिङ, सिक्किम लगायतबाट हलेसी तथा सगरमाथा पुग्ने सबैभन्दा छोटो बाटो खुल्ने जनाइएको छ।

खोटाङतर्फ दुर्छिमका स्थानीयले अढाई वर्ष लगाएर निर्माण गरेको दलस्वर चोकदेखि सुनकोसीको बतासेघाट ख्रोप्पा जोड्ने १२ किलोमिटर होलेसुङ–जनकराज राई मार्ग २०७२ साल जेठ ९ गते उद्घाटन गरिएको थियो।

प्रकाशित: २२ माघ २०७४ १०:५५ सोमबार

हलेसी गाईघाट जोड्न मार्ग खुल्दै