समाज

पाहुना स्वागत गर्न पोखरा आतुर

पर्यटन व्यवसायीका अनुसार सन् २००० ताका पोखरामा आन्तरिक पाहुनाको हिस्सा करिब पाँच प्रतिशत मात्र थियो। अहिले त्यो हिस्सा ३५ प्रतिशत नाघिसकेको छ।

आधिकारिक रेकर्ड कतै नरहे पनि पोखरा आउने आन्तरिक पाहुनाको संख्या बर्सेनि बढिरहेको व्यवसायी बताउँछन्। पोखरामा हुने विभिन्न गतिविधिले पनि आन्तरिक पाहुनालाई आकर्षण गरिरहेको छ।

व्यवसायीका अनुसार सप्ताहन्तमा पोखरामा सधैंजसो आन्तरिक पाहुना आउँछन्। अझ सार्वजनिक बिदा केही दिन लम्बियो भने त पोखरा भित्रिने पाहुनाको संख्या झन् बढ्छ। दसैं–तिहार जस्ता चाडबाडका बेला त यहाँ आउने आन्तरिक पाहुनाको आकार निकै बढी हुने गरेको छ।

आन्तरिक पाहुनाको आगमन देखेरै व्यवसायीले भन्ने गरेका छन्, ‘आन्तरिक पाहुनाकै कारण व्यावसाय चलायमान बनेको छ। कुनै न कुनै बहानामा आन्तरिक पाहुना पोखरा आउन चाहन्छन्। कतिपय गतिविधिले त निकै ठूलो आकारमा आन्तरिक पाहुना पोखरा हानिन्छन्।

पोखरामा आन्तरिक पाहुना तान्ने गरी बेलाबेला विभिन्न कार्यक्रम पनि हुन्छन्। ती कार्यक्रमले पनि आन्तरिक पाहुनालाई पोखरा भित्र्याउन सघाएको छ। तिनैमध्येको एउटा महोत्सव छ, जसले पाँच दिनमा झन्डै पाँच लाख पाहुना पोखरा भित्र्याउँछ। त्यो मेला हो–पोखरा सडक महोत्सव। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले बर्सेनि यो महोत्सव आयोजना गर्छ।

यस पटक महोत्सवको २५ औं संस्करण बिहीबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु हुँदैछ। पुस १२ देखि १६ गतेसम्म यो मेला लेकसाइडको करिब तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुनेछ।

रेवानका अध्यक्ष नरेश भट्टराईका अनुसार यो पटकको मेलामा करिब पाँच लाख आन्तरिक पाहुना पोखरा भित्रिने अनुमान छ। ‘अघिल्ला वर्ष कोभिड संक्रमणले गर्दा पाहुना खुल्न सकेका थिएनन्। त्रासका कारण चाहेर पनि पाहुना घुम्न आउन सकेका थिएनन्, योपटक भने पाहुनाको संख्या निकै बढी हुने अपेक्षा छ,’ भट्टराइले भने, ‘एउटा महोत्सवले पाँचदिनमा पाँच लाख पाहुना भित्र्याउँदा त्यसले अर्थतन्त्रमा पार्ने प्रभाव पक्कै पनि बलियो हुनेछ।’

उनका अनुसार यो पटक नयाँवर्ष अघिदेखि नै पोखरामा पाहुनाको संख्या बढिसकेको छ। क्रिसमस र सार्वजनिक बिदाका कारण योपटक पोखरामा आउने पाहुनाको आकार झन् बढी हुने उनले बताए।

‘यो पटक सार्वजनिक बिदाका दिन धेरै परेका छन्। क्रिसमसदेखि अंग्रेजी नयाँवर्ष सुरु हुने दिनसम्ममा बिदाका दिन धेरै हुँदा पोखरामा पाहुना थपिएका छन्,’ उनले भने, ‘अघिल्ला वर्षसम्म कोभिड त्रासले रोकिएका पाहुना पनि यस पटक घुम्न आउने अपेक्षा छ किनभने अहिले कुनै अप्ठ्यारो छैन।’

पोखराको यो महोत्सव आन्तरिक पाहुना भित्र्याउने सबैभन्दा बलियो माध्यम बनेको उनले सुनाए। ‘मेला महोत्सव अन्यत्र पनि हुन्छन् तर पोखराको यो महोत्सव अरूतिर हुने भन्दा नितान्त फरक छ। यो महोत्सव खाना, संस्कृति, उत्पादन, म्युजिकसँग पनि जोडिएको छ। अरूतिरको भन्दा फरक रहेर सडकमै रमाउन पाउने भएकाले पनि मेलाले पाहुनाको ध्यान बढी खिचेको हो,’ उनले भने।

 पोखरामा पाँच दिनमा भित्रिने झन्डै पाँच लाख पाहुनाले आर्थिक रूपमा चलायमान बनाउन पनि सघाउने उनले बताए।

‘हुन त अहिले आन्तरिक पाहुनाकै कारण पोखराको पर्यटन क्षेत्र थामिएको हो। यो पटक विदेशी पाहुना निकै नै कम छन्। विदेशीको अभावलाई स्वदेशीले परिपूर्ति गरेका छन्,’ उनले भने, ‘आन्तरिक पाहुना पनि नहुँदो हो त पोखराको पर्यटन क्षेत्र चलायमान बन्ने थिएन।’

उनका अनुसार अहिले वर्षैभरि आन्तरिक पाहुना पोखरा आउँछन् तर त्यसमा पनि लामो बिदाको बेला आउने पाहुना अझै बढी हुन्छन्।

‘वर्षभरिमा आन्तरिक पाहुनाको हिस्सा कम्तिमा ३५ प्रतिशत हुने गरेको छ। कुनै बेला त यो आकार झन् बढ्छ। यही सडक महोत्सवमा आन्तरिक पाहुनाको हिस्सा करिब ८० प्रतिशतसम्म पुग्छ,’ माउन्ट कैलाश रिसोर्टका सञ्चालकसमेत रहेका अध्यक्ष भट्टराईले भने, ‘यो बेलाका पाहुना भनेको आन्तरिक नै हुन्। विदेशी पनि केही त हुन्छन् तर त्यो संख्या ज्यादै कम हुन्छ।’

कोभिडले थलिएको पर्यटनक्षेत्र उकास्न आन्तरिक पर्यटनले ठूलो साथ दिएको उनले बताए। ‘कुनै न कुनै निहुँमा आन्तरिक पाहुना पोखरा भित्रिन्छन् तर सडक महोत्सव अवधिमा भित्रिने त्यो संख्या वर्षभरिको भन्दा ठूलो हुन्छ,’ उनले भने।

अंग्रेजी पुरानो वर्ष बिदाइ र नयाँवर्षको स्वागतार्थ हुने यो महोत्सव एकै समयमा सञ्चालन हुन्छ। ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ नाराका साथ सञ्चालन हुने महोत्सव पछिल्लो समय विदेशीभन्दा पनि आन्तरिक पाहुना माझ बढी लोकप्रिय बन्दै गएको रेबानका पूर्व अध्यक्ष गोपी भट्टराई बताउँछन्।

‘न्यु इयर मनाउन पोखरा जानैपर्छ भन्ने सन्देश देशैभरि फैलिएको छ। आन्तरिक पाहुनाले यो बेला पोखरा घुम्न जानुपर्छ भनेर महोत्सवलाई क्यालेन्डरमै समेटेका छन्,’ उनले भने, ‘पोखरा गएर अंग्रेजी नयाँवर्ष मनाउने योजना आन्तरिक पाहुनाले बनाउन थालेका छन्।’

पोखरामा हुने यो महोत्सवमा आसपासका क्षेत्रबाट मात्र नभई पूर्वदेखि पश्चिमका सहरबाट पनि पाहुना आउने उनले बताए।

पोखराको यो महोत्सवले पाहुना मात्र आकर्षित गरेको छैन, यसले पोखरा र आसपासको क्षेत्रलाईसमेत आर्थिक रूपले चलायमान बनाएको उनी बताउँछन्।

‘आर्थिक चलायमान बनाउन यो महोत्सवको ठूलो भूमिका छ। किनभने पाँच दिनमा भन्डै पाँच लाख पाहुना भित्रिँदा त्यसले पर्यटनमा मात्र नभई आर्थिक क्षेत्रमा सबैभन्दा बढी योगदान मिलेको छ,’ पूर्व अध्यक्ष भट्टराई भन्छन्, ‘पोखराले मात्र यो बेला नभई गण्डकी प्रदेशकै पर्यटन क्षेत्रले यो बेला लाभ पाउँछ। होटलदेखि होमस्टेले समेत यो बेला कमाउने अवसर पाउँछन्।’

पोखराको पर्यटकीय क्षेत्रमा हुने पाँचदिने यो महोत्सवले पर्यटन प्रवद्र्धन गर्न र बाँकी ३६० दिन व्यावसाय स्थापित गराउन सघाएको उनले बताए।

‘नेपालीको त मनमनमा यो महोत्सव बसेको छ। पछिल्लो समय भारतीय, चिनियाँ र बंगलादेशी पाहुनाको पनि मनमा बस्न थालेको छ,’ उनले भने, ‘आन्तरिक पाहुना भित्र्याउन त यो जत्तिको भरपर्दाे माध्यम अरू कुनै छैन। पाहुनालाई पोखरा घुम्न प्रेरित गर्न यो महोत्सवको भूमिका रहेको छ।’

पर्यटकीय क्षेत्र लेकसाइडको करिब तीन किलोमिटर क्षेत्रभित्र हुने यो महोत्सवमा सडकमै खान र रमाउन पाइने हुँदा बढी रोमाञ्चक बन्ने गरेको मेला संयोजक विश्वराज पौडेल बताउँछन्।

‘२५ वर्ष अघि यो मेला सुरु गर्दा नेपालमा अंग्रेजी नयाँवर्षको रमझम खासै हुँदैनथ्यो। नेपाली पनि रमाउनका लागि यो बेला भारतको गोवा जान्थे। नेपालमा कार्यरत कूटनीतिक निकायका पाहुना पनि स्वदेश फर्किन्थे,’ पौडेल भन्छन्, ‘तर अहिले स्वदेश फर्किने कूटनीतिक निकायका पाहुना पोखरा आउँछन् भने विदेश जाने आन्तरिक पाहुना पनि रमाउनकै लागि पोखरा आउँछन्। पछिल्लो समय अंग्रेजी नयाँवर्ष पोखरामा मनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न सकेका छौं।’

मेलाकै कारण पोखरामा बसोबास गरिरहेका पाहुनाको बसाइ अवधि पनि लम्बिएको पनि उनले बताए।  

प्रकाशित: १२ पुस २०८० ०२:११ बिहीबार

पर्यटन व्यवसायी आधिकारिक रेकर्ड पोखरामा आन्तरिक पाहुनाको हिस्सा