समाज

प्रादेशिक राजधानी माग्दै वीरगन्ज बन्द

वीरगन्ज बन्दको क्रममा प्रदर्शनकारी। तस्विर : रितेश त्रिपाठी

वीरगन्ज – प्रदेश २ को राजधानी यहाँ बनाउनु पर्ने माग राख्दै आइतबार वीरगन्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । एक महिना अगाडी देखी प्रादेशीक राजधानी माग्दै सुरु भएको चरणबद्ध आन्दोलन अन्तर्गत घोषणा गरिए अनुसार आइतवार वीरगन्ज बन्द गरिएको हो।

यसअघि बन्दको पुवसन्ध्यामा शनिवार साँझ वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाईमा मशाल जुलुस गरेर बन्द सफल पार्न आन्दोलनकारीले आह्वान गरेका थिए।

सरकारले प्रदेश २ को अस्थायी राजधानी धनुषाको जनकपुरधाम तोकेपछि दवाव बढाउन बन्द गरिएको आन्दोलनकारीले बताएका छन् । जनकपुरमा प्रदेशसभाको पहिलो बैठक बस्ने दिन पारेर आइतवार आन्दोलरत संघर्ष समितिले वीरगन्ज बन्द गरेको हो।

बन्दकर्ताले बिहानैदेखि सडक अवरुद्ध पारेर सवारीसाधन चल्न दिएका छैनन् । घण्टाघर चोक लगायत ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ । बन्दको अवज्ञा गरेको भन्दै घण्टाघर र आदर्शनगर क्षेत्रमा बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् । उनीहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुईवटा निजी कारमा तोडफोड गरेका हुन्।

त्यसैगरी शैक्षिक संस्था, बजार, ब्यपारिक प्रतिष्ठान र बितीय संस्थाहरु बन्द छन् । बन्दका कारण वीरगन्ज नाका भएर कुनै मालवाह सवारी वा इन्धन ढुवानी गर्ने ट्यांकर आउन सकेका छैनन् । आफुहरुले जायज माग राख्दै सुरु गरेको संघर्ष अन्र्तगत शान्तिपुर्ण आन्दोलनमा उत्रिएको संघर्ष समितिका एक जना अगुवा श्याम पटेललले बताए।

प्रदेश २ मा राजधानी बनाउन वीरगन्ज सबैभन्दा उपयुक्त र सक्षम भए पनि राजनीतिक दुराग्रहले जानीजानी वीरगन्जलाई पछि पार्ने काम भइरहेको संघर्ष समितिका अर्का अगुवा मनोज चौधरीको भनाई छ।
 

प्रकाशित: २१ माघ २०७४ ०६:१२ आइतबार

प्रादेशिक राजधानी माग्दै वीरगन्ज