समाज

रूकुम पूर्व सदरमुकाम विवाद : चिरिन थाले भावना

रुकुमकोट बजार । तस्बिर : नागरिक

रुकुम – तत्कालिन राष्ट्रपति रामवरण यादवले रूकुम जिल्लालाई पूर्व रूकुम र पश्चिम रूकुम भनेर घोषणा गर्दा पूर्वी रूकुमका जनतामा खुशीयाली छाएको थियो।  उनीहरूले उक्त निर्णयको स्वगत गर्दै घरघरमा दिपावली समेत गरेका थिए। उक्त निर्णय पछि सरकारी कामकाजका लागि दुई/तीन दिन लगाएर मुसीकोट आउनुपर्ने बाध्यता अन्त्य भयो भन्दै उनीहरूमा खुशीको सीमा थिएन। झनै खुशी थिए नयाँ जिल्लाको बासिन्दा बन्न पाएकोमा। 

यहि असोज १९ गते रूकुमकोटमा सरकारी कार्यालयहरूको उद्घाटन हुँदा उनीहरूले भव्य स्वागत गरेका थिए। रूकुम (पूर्व) का पूर्वी र पश्चिम क्षेत्रका बासिन्दाहरूमा सरकारको उक्त निर्णयले न्याय पाएको महसुस भएको थियो। रूकुम (पूर्व) पूर्वी क्षेत्रका वासिन्दाहरू पनि सदरमुकाम रूकुमकोटको विकल्प देखेका थिएनन्।पूर्वाधार विकास र भौगोलिक बनावटका कारण रूकुमकोटमै सदरमुकाम हुनुपर्नेमा जनताको एक मत थियो। तर, अघिल्लो बिहीवार सरकारले रुकुम (पूर्व)को सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडा बनाउने निर्णय गरेपछि उनीहरू रूकुमकोटको विकल्पमा आए। सरकारको निर्णयलाई स्वागत गर्दै गोलखाडा सदरमुकामको विकल्प बन्न थाल्यो।

सरकारले गरेको निर्णको विरूद्ध अधिवक्ता गणेश हमालले सर्वोच्चमा मुद्दा दायर गर्दा उक्त मुद्दा अहिले सर्वोच्चमा बहसमा छ। सरकारको उक्त निर्णयले रुकुमकोट र गोलखाडाका वासिन्दाहरुको भावना फाट्न (चिरिन) थालेको छ। २०३० सालमा रुकुमकोटवाट मुसीकोटमा सदरमुकाम सार्दा मुसीकोट र रुकुमकोटका जनताको भावना चिरिएको थियो। सिंगो रुकुम एक हुनुपर्ने माग गर्दै रुकुम (पश्चिम)ले आन्दोलन गर्दा उता रूकुम पूर्वले सरकारको निर्णको स्वागत गर्दै दिपावली मनाउनुले पनि उनीहरूबीचको फाटो झन प्रस्ट भएको छ। 

सदरमुकाम गोलखाडामा सार्ने स्थानीय दबाब हुँदा नहुँदै पनि सारिनु राजनीतिक स्वार्थ  हुनुका साथै रुकुम (पुर्व) र पश्चिम भेगका वासिन्दाको भावना विपरितको निर्णय सरकारले गरेको स्थानीयको आरोप छ। यहाँ नेकपा माओवादीका केन्द्रका नेता जनार्दन शर्मा, गणेशमान पुन, दलजित सेर्पाली, कमला रोका लगाएतका नेताहरू शक्तिमा देखिन्छन्। नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेका बेला नेपाली कांग्रेसका नेता कशेरमान रोका उक्त शक्तिलाई पाखा लगाउँदै आफ्नो प्रभाव राख्न सदरमुकाम गोलखाडा बनाउन थालेको यहाँका वासिन्दाको आरोप छ।

सरकारको उक्त निर्णयले अहिले जनतामा भेगिय भावना प्रदा हुँदै गइरहेकोप्रति स्थानीले चिन्ता व्यक्त गरेका छन्। चुडिन लागेका भावनाहरुमा मलम लगाएर सिंगो रुकुम (पुर्व) को विकासका लागि सबै हातेमालो गर्न आवश्यक रहेकोप्रति स्थानीयको जोड छ। 

प्रकाशित: २० माघ २०७४ ११:३० शनिबार

रूकुम पूर्व सदरमुकाम विवाद चिरिन थाले भावना