समाज

रसुवागढीमा सुख्खा बन्दरगाह निर्माण हुँदै

रसुवाको टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको निर्माणस्थल ।

रसुवा – रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ। चीनसँगको अन्तराष्ट्रिय व्यापारीक नाका रसुवागढी भन्दा २ किलोमिटर वर पर्ने टिमुरेमा अबको ४ महिना भित्र सुख्खा बन्दरगाह निर्माण सुरु हुने भएको हो।

सुख्खा बन्दरगाह निर्माण हुन लागेको क्षेत्रको अवलोकनका लागि शुक्रबार रसुवा आएका वाणिज्यमन्त्री मिन विश्वकर्माले चिनियाँ पक्षसँग यसअघि भएको सम्झौता अनुसार नै बन्दरगाह निर्माण हुने बताए।  

पहिले सम्झौता भएको भन्दा बढी पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको र चिनियाँ पक्षसँग छलफलको क्रम लम्बिएपछि निर्माण कार्यमा केही ढिलाई हुन पुगेको वाणिज्यमन्त्री विश्वकर्माले बताए।  

‘पहिले भएको सम्झौता अनुसार पूर्वाधार नपुग्ने देखियो, पछि केही थप पूर्वाधार पनि निर्माण गर्नुपर्ने आवश्यकता देखिएको विषयमा छलफल गर्दा अर्को सम्झौता गर्नुपर्ने बतायो,’ उनले भने, यसकारण पहिले कै सम्झौता अनुसार कार्य अगाडी बढाउन लागेका छौँ ।’

मुआब्जा नपाएको भन्दै वाणिज्यमन्त्रीलाई ज्ञापनपत्र
सुख्खा बन्दरगाह निर्माणको लागि प्रारम्भिक डिजाइन भइसक्दा समेत मुआब्जा नपाएपछि स्थानीयले वाणिज्यमन्त्री विश्वकर्मालाई ज्ञापनपत्र बुझाएका छन्।

बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने ८ हेक्टर क्षेत्रफलमध्ये ३ हेक्टर जग्गा सर्वधारणको अधिग्रहण गरिएपनि १२ घरको मुआब्जा वितरण गरिएको छैन् । प्रभावित क्षेत्रका २५ घरधुरीका लागि जग्गाको मुआव्जा भने यसअघि नै वितरण गरिएको छ।

सुख्खा बन्दरगाह निर्माण प्रयोजनका लागि टिमुरेस्थित सडक मुनिको जग्गामा बनेका घरटहराको अधिग्रहण गरिएपनि मुआब्जा पाउन नसकेको स्थानीय फुर्पुदोर्जे घलेले बताए।

यस्तो छ प्रारम्भिक डिजाइन
सुख्खा बन्दरगाह निर्माणको लागि प्रारम्भिक डिजाइन सकिएको छ । प्रारम्भिक डिजाइन स्वीकृत भइसकेको र थप डिटेल डिजाइन कार्य अबको ३ महिना भित्र सक्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले बताए । उनले भने, ‘डिटेल डिजाइन सकेको एक महिना भित्र निर्माण कम्पनिको छनौट गरि काम सुरु गर्ने छौँ ।’

चिनियाँ पक्षले निर्माण सम्पन्न गरेपछि बन्दरगाह नेपाल सरकारलाई भाडामा दिने छ । ८ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहमा एउटा मुख्य भवन रहने बस्नेतको भनाई छ । त्यसमा प्रशासनीक कार्यका लागि भन्सार, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षा लगायत कार्यालयहरू रहने छन्।

३ सय १५ भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने पार्किङस्थल निर्माण हुने छ । ७५० वर्ग मिटरको क्षेत्रफलमा गोदामघर निर्माण हुने बस्नेतले बताए।

 

प्रकाशित: २० माघ २०७४ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App