समाज

सुपर ग्यास दुर्घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

वीरगन्ज – वीरगन्जको वडा नम्बर १८ सुखचैनास्थित सुपर ग्यास उद्योगको आगलागी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारजनलाई आर्थिक सहयोग सहयोग गरिएको छ। शुक्रवार पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादवले जनही एक लाख रुपैयाको दरले आर्थिक सहयोग प्रदान गरेका छन्। यसअघि बिहीवार वीरगन्ज महानगरपालिकाको तर्फबाट महानगरका प्रमुख विजय सरावगीले २ लाखको दरले आर्थिक सहयोग मृतकका परिवारजनलाई प्रदान गरेका थिए।

पुस ५ गते बिहान ग्यास उद्योगमा भएको भीषण आगलागीमा वीरगन्ज महानगरपालिका कार्यालयका बारुण यन्त्र (दमलक) का ३ जना कर्मचारीको जलेर मृत्यु भएको थियो। ग्यास उद्योगमा चुहिएको ग्यास बुलेटबाट क्षति हुन नदिन भनेर नियन्त्रण गर्न पुगेका दमकल बारुणयन्त्र कर्मचारी एक्कासी फैलिएको भिषण आगोको चपेटामा परेका थिए। २ जना घट्नास्थलमै र घाइते एकको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो।

घटनापछि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मृतकका परिवार जनलाई एक÷एक लाख रुपैयाँको दरले राहत र घाइतेहरुलाई ५० हजार रुपैयाँ उपचार खर्च दिने घोषणा गरेका थिए। मृतक ३ जनाको परिवारलाई साँसद यादवले भनेअनु्सार शुक्रवार एक–एक लाख रुपैयाँको बैंक चेक वीरगन्ज महानगरपालिकामा पुगी हस्तान्तरण गरेका हुन्। ‘घट्ना अत्यन्त दुःखद भयो, ३ जना कर्मचारीहरुले ज्यान गुमाउनु भयो, मानवीय क्षतिको परिपूर्ति हुन सक्दैन, मैले एउटा सम्मान स्वरुप सानो रकम प्रदान गर्न लागेको हुँ,’ चेक हस्तान्तरित गर्दै नेता यादवले मृतकका परिवारजनलाई भने, ‘कुनै पनि बेला आवश्यक परे यहाँहरु मलाई सम्झिनु सम्भव भएसम्म सहयोगको गर्ने छुँ।’

अरुको ज्यान धन जोगाउदा जोगाउदै आगोको चपेटमा परेर घट्नास्थलमै मृत्यु वरण गरेका दुई जना हुन लालबन्दी नगरपालिका –७ (साबिक भक्तिपुर–९) सर्राहीका यादव प्रसाद अधिकारी र तनहु डुम्रेका मदुसुदन मिश्र। घटनामा घाइते भएका अर्का एक जना संजीव नेपालको उपचारको क्रममा २ दिनपछि काठमाडौंमा मृत्यु भएको थियो। मृतक मिश्राकी श्रीमती निरा मिश्रा, अधिकारीकी श्रीमती रञ्जना पौडेल अधिकारी र नेपालकी आमा लोकमाया सिग्देललाई चेक हस्तान्तरण गरिएको हो।

वीरगन्जका नगरप्रमुख सरावगीले आफूहरुले मृतकका परिवारजनलाई राहतसंग संगै आश्रीतहरुमध्ये एक जनाको जागिर र बालबालिकाको पढाईको खर्च महानगरपालिकाले बेहोर्ने बताए। सम्बन्धीत ग्यास उद्योगले १० लाख रुपैयाँ जनही ३ जना मृतकका परिवालाई प्रदान गरिसेको महानगरपालिकाका संचार सल्लाहकार अनिल तिवारीले बताए। वीरगन्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मी, पर्साका जिल्ला समन्वय समितिका सभापति नेक महमद लगायतको उपस्थितीमा शुक्रवार चेक हस्तान्तरण गरियो।

प्रकाशित: १९ माघ २०७४ १४:०५ शुक्रबार

सुपर ग्यास दुर्घटनाका मृतक परिवारलाई आर्थिक