समाज

बालबालिकाको रोजाइ बाल क्लब

धुनीबेसीको एउटा बाल क्लबमा रमाउँदै बालबालिका । तस्बिर : सरिता- नागरिक

धादिङ – कक्षा ९ मा पढ्दै गरेका गोरक्ष हमाल धुनीबेसीमा नगरस्तरीय बाल क्लबका अध्यक्ष हुन् । सानैदेखि बाल क्लबमा बसेर आफ्नो प्रतिभा देखाउँदै आएका उनी क्लबमा बस्न पाउँदा खुसी छन् । पढाइलाई  निरन्तरता दिँदै आएका उनको रोजाइमा बाल क्लब परेको छ । पढेर बचेको समय बाल क्लबमा लगानी गर्ने गरेको गोरक्ष बताउँछन् ।

‘पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुनुपर्छ,’ उनी भन्छन्, ‘बाल क्लब हामीजस्ता बालबालिकाको रोजाइ बनेको छ ।’ महाकाली विद्यालयमा रहेको बाल क्लबमा आबद्ध उनी वडाध्यक्ष हुँदै नगर अध्यक्ष बनेका हुन् । क्लबले शनिबार र अन्य सार्वजनिक बिदाका दिन समुदायमा सरसफाइ तथा अरू रचनात्मक कार्यक्रम गर्ने गरेको छ ।  त्यस काममा अभिभावक तथा विद्यालयले पनि सघाउने गरेका छन् ।

बाल क्लबमा आबद्ध भएपछि हमालको सक्रियतामात्रै होइन, आनीबानीमा पनि परिवर्तन आएको छ । पहिले बोल्न डर मान्ने उनी अहिले सबैका अगाडि नडराई आफ्ना कुरा राख्छन् । ‘पहिले शिक्षकका अगाडि जान पनि डर लाग्थ्यो,’ गोरक्षले भने, ‘अहिले नजानेका कुरा क्लबभित्रै छलफल गर्छाैं, क्लबका साथीबाट समाधान नभए धक फुकाएर शिक्षक, अभिभावकसँग सोध्छौं, त्यहाँबाट पनि समाधान नभए त्यसका विज्ञसम्म पनि पुग्ने गर्छौं ।’ बाल क्लबमा बसेपछि गोरक्षमात्र होइन, उनका साथीहरूको पनि बानीबेहोरा बदलिएको छ । 

 भुवनेश्वरी बाल क्लबका अध्यक्ष ज्योत्सना रेग्मी पनि बाल क्लबमा बस्न पाउँदा उत्साहित छिन् । नियमित विद्यालय जानु, साथीसँग भेट्नु, अतिरिक्त क्रियाकलापमा भाग लिनु उनको दैनिकी हो । उनले विद्यालय तथा बाहिरी क्षेत्रमा हुने हरेक प्रतियोगितामा भाग लिने गरेकी छिन् । बाल क्लबले बालबालिकामा धेरै परिवर्तन ल्याएको उनी बताउँछिन् । ‘बाल क्लबमा लागेपछि सामाजिक काममा पनि सक्रियता बढेको छ,’ उनले भनिन्, ‘ बाल क्लबकै कारण मभित्र सुधार आएकोे छ ।’ पहिलो प्राथमिकता पढाइलाई दिएको र त्यसपछिमात्रै अरू अभियानमा लाग्ने गरेको ज्योत्सना बताउँछिन् । बाल क्लबका लागि स्रोत पनि बालबालिकाले नै जुटाउने गरेका छन् ।

मछिन्द्र बाल क्बलका अध्यक्ष सोनिका पाठक पनि बाल क्लबमा बसेर आफ्नो डराउने बानी हटेको बताउँछिन् । बालबालिका देशका कर्णधार भएकाले हरेक क्रियाकलापमा साथ दिनुपर्ने उनी बताउँछिन् । बाल क्लब सञ्चालन तथा रेखदेखका लागि नगरपालिकाले पनि प्राथमिकता दिनुपर्ने उनी बताउँछिन् । बालबालिकाका लागि भनेर सरकारले बजेट छुट्याउने गर्छ तर त्यसबारे बालबालिकाले थाहा नपाउने गरेको उनको भनाइ छ । ‘बालबालिकाका लागि भनेर बजेट आउँछ तर त्यो केका लागि खर्च हुन्छ हामीलाई थाहा हुन्न,’ उनले भनिन्, ‘गरिब बालबालिकाका लागि शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिकाले विशेष व्यवस्था गर्नुपर्छ ।’ यस्तो बजेटबाट सेनेटरी प्याडजस्ता अत्यावश्यक सामग्री उपलब्ध गराउनुपर्ने उनी बताउँछिन् । कतिपय विद्यालयमा भवन नै छैनन् । शौचालय, खानेपानीको सुविधा नहुदाँ धेरै समस्या भोग्नुपरेको छ ।

 हरेक बालबालिका पढाइसँगै अन्य अतिरिक्त क्रियाकलापमा पनि रुचि राख्छन् । खेल्ने, घुम्ने तथा साथीसँग रमाइलो गर्ने गर्छन् । स्रोत र साधन अभावका कारण बाल क्लबलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न नसकेको शिक्षक धुव्रप्रसाद चापागाईंले बताए । ‘बालबालिका सक्रिय भएर बाल क्लब सञ्चालन गर्छन्, कार्यक्रम गर्छन् तर स्रोत जुटाउन गाह्रो छ,’ उनले भने, ‘सीमित स्रोत साधन जुटाएरै भए पनि बेलाबेलामा सचेतनामूलक कार्यक्रम गरिरहेका हुन्छन् ।’ बाल क्लब सञ्चालन गर्न विद्यालयबाट पनि सहयोग गर्ने गरेको उनको भनाइ छ ।

युनिसेफको सहयोगमा सिर्जनशील समाज नेपालले धादिङको धुनीबेसी नगरपालिकामा बाल क्लब गठन, पुनर्गठन तथा सहजीकरण गरेपछि बालबालिका बाल क्लबमा आबद्ध हुन थालेका हुन् । नगरपालिकाका प्रत्येक विद्यालयमा बाल क्लब सञ्चालनमा छन् भने वडास्तरमा पनि बाल क्लब गठन गरिएको छ ।

नगरपालिकाका धेरै बालबालिका इँटाभट्टामा काम गर्छन् । उनीहरूले पढ्न पाएका छैनन्, स्वास्थ्यमा समेत ध्यान दिएका छैनन् । त्यस्ता बालबालिकालाई श्रममुक्त गराउन बालबालिकाले नगरपालिकालाई आग्रहसमेत गरेका छन् । बालबालिकाले बालमैत्री धारा, बालमैत्री विद्यालय र सरसफाइका विषयमा बाल क्लबमा छलफल गर्ने गरेका छन् । उनीहरूको प्राथमिकतामा सबै बालबालिका विद्यालयमा हुनुपर्ने, विद्यालयमा सफा शौचालय, बालमैत्री खेलकुद मैदान हुनुपर्ने, सडकमा जेब्रा क्रसिङ हुनुपर्ने रहेको छ ।  बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल क्लब निर्माणका लागि सबै स्थानीय तहले बजेट छुट्याउने गरेका छन् । बालबालिकाका नाममा बजेट त छुट्याइन्छ तर कार्यन्वयनमा भने समस्या छ ।

धुनीबेसी नगरपालिकाका उपमेयर निरु खरेल बालबालिकालाई कुनै पनि अवसरबाट वञ्चित गराउन नहुने बताउँछिन् । बालबालिका संरक्षणका लागि सबै पक्षमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘तर, हाम्रो समाजमा धेरै बालबालिका आधारभूत अधिकारबाट बञ्चित भइरहेका छन्,’ उनले भनिन्, ‘घरपरिवार, विद्यालय, छरछिमेक, समाज सबै ठाँउमा बालबालिकाले संरक्षण पाउनुपर्छ ।’ बालबालिका दुव्र्यवहार र शोषणमा पर्ने गरेका घटना सञ्चारमाध्यममा आइरहेका छन् ।

यस्ता घटनाबाट बच्नका लागि बालबालिका तथा किशोरकिशोरी आफै पनि अधिकारका बारेमा सचेत हुनुपर्ने उनको भनाइ छ।बालबालिकाविरुद्ध हुने सबै खाले दुव्र्यवहारका बारेमा जानकार हुँदै त्यसबाट आफू कसरी बच्ने र साथीसंगीलाई पनि कसरी बचाउने भन्नेबारेमा बाल कल्बको भूमिका महत्वपूर्ण देखिएको छ ।
 


    

 

 

प्रकाशित: १९ माघ २०७४ ०४:१३ शुक्रबार

बालबालिकाको रोजाइ बाल क्लब