समाज

जुम्लामा टिकट वितरणलाई व्यवस्थित बनाइने

जुम्लामा हवाई टिकटलाई व्यवस्थित बनाउने विषयमा सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले टिकट वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने सहमति भएको बताइएको छ।

यसअघि एयरलाइन्स कम्पनीहरुले मनपरी रुपमा टिकट बाँड्ने, विमानस्थल बाहिरका कार्यालय नखोल्ने, फोनको भरमै आफन्तहरुलाई टिकट दिने र सर्वसाधारण नागरिकले सहजै रुपमा टिकट नपाउने जस्ता जनगुनासो आएपछि समस्या समाधानका लागि सर्वदलीय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

सर्वदलीय बैठकले विमानस्थलमा टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने र एक दिन अगावै यात्रुको हातमा टिकट दिइसक्नुपर्ने निर्णय गरेको छ।

प्रत्येक वायुसेवा कम्पनीहरूले एकआपसमा सहकार्य गरेर टिकट वितरणलाई सहज बनाउनुपर्ने, हरेक विमान कम्पनीले १० सिट सर्वसाधारणका लागि उपलब्ध गराउनुपर्ने निर्णय भएको प्रजिअ घिमिरेले बताए।

बिरामी, अशक्तका लागि २ सिट, सुरक्षाकर्मीहरुका लागि प्रत्येक फ्लाइटमा २ सिट र जिल्ला प्रशासनका लागि २ सिट जहाज उड्ने समयको अन्तिमसम्म छुट्याउनुपर्ने, अत्यावश्यक काम भएका यात्रुलाई प्राथमिकतामा राखिनुपर्ने निर्णय भएको उनले जानकारी गराए।

‘ए’ लेखिएको टिकट जरुरी काम परेकालाई दिइनेछ भने ‘बि’ .लेखेको टिकट बिरामीको लागि, ‘सी’. लेखिएको टिकट सरकारी कर्मचारीको लागि दिइने निर्णय समेत भएको उनलेब बताए।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पहिलो चरणमा जुम्लामा हुने उडानमा टिकट प्रणाली व्यवस्थापन गर्न सवैको सहयोग आवश्यक रहेको बताए।

पहिलो चरणमा १० बजे देखि साँझ ४ बजे सम्म प्रत्येक एयरलाइन्सले कार्यालय खोलेर टिकट बाँड्नुपर्ने, कुनै पनि बिरामीले जहाजमा सहजै रुपमा जान पाउनुपर्ने निर्णय भएको उनले बताए।

जुम्लामा नेपाल एयरलाइन्स, सीता, तारा र समिट एयरको जहाजले उडान भर्दै आएका  छन्। पछिल्लो समय सुर्खेत, नेपालगन्जदेखि यात्रु नपाउने गरेको भन्दै कम उडान भर्न थालेपछि विमानस्थलमा यात्रुको चाप बढेको छ।

प्रकाशित: ९ पुस २०८० ०८:३१ सोमबार

जुम्ला हवाई टिकट व्यवस्थित बनाउने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे सर्वदलीय बैठक टिकट वितरण पारदर्शी एयरलाइन्स कम्पनी