तेह्रथुम – तेह्रथुममा बेपत्ता भएको ९ महिनापछि एक व्यक्तिको कंकाल फेला परेको छ । म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो।
जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बूको एउटा नली खुट्टाको हड्डी र टाउकोको कंकाल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वासुदेव यादवले बताए।
लिम्बू झुण्डिएको पात्लेको हाँगासमेत लाछिएर भुइँमा झरेको अवस्थामा डोरीसहित कंकाल भेटिएको र कंकालसँगै रहेको कमिज, चप्पल र ज्याकेट तथा ज्याकेटको गोजीमा रहेको लिम्बूको नागरिकताको आधारमा परिचय खुलेको घटनास्थलमा पुगेका प्रहरी नायब निरीक्षक केशर खत्रीले बताए। नागरिकता भने प्लाष्टिकमा पोको पारिएकाले जस्ताको त्यस्तै भेटिएको छ।
सोमबार साँझ स्थानीयले कंकाल भेटाएपछि प्रहरीलाई खबर गरेका थिए।
लिम्बू गएको वैशाख महिनादेखि बेपत्ता थिए । परिवारले वैशाखमा बेपत्ता भएको उजुरी प्रहरीमा गरेको थियो । उनको नागरिकतासहित कंकाल भेटिएको साथै छोरा शान्त लिम्बूले बाबुले लगाएको कमिज र चप्पलको आधारमा चिनेकाले लिम्बूको पहिचान प्रष्ट भएको हो । लिम्बू मानसिक रुपमा समेत रोगी रहेको परिवारले बताएको छ। (रासस)
प्रकाशित: १६ माघ २०७४ ०६:५४ मंगलबार