समाज

टिकटक बन्द! सरकारलाई हाइसञ्चो, व्यवसायीको बिचल्ली

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत व्यवसाय गरिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त छ। एक महिनाअघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएका व्यवसायी यतिखेर व्यवसाय कसरी गर्ने भर्ने चिन्तामा छन्।

टिकटक अकाउन्ट ‘किताब किरो’मार्फत पठन संस्कृति प्रवर्द्धन गरिरहेको तारानिधि रेग्मी सरकारको अचानकको टिकटिक प्रतिबन्धको निर्णयले स्तब्ध भए। पुस्तकका बिक्रेतासमेत रहेका र डेढ वर्षदेखि ‘किताब किरो’ सञ्चालन गरिरहेका उनका लागि पछिल्लोसमय टिकटक थप आम्दानीको स्रोत बनिरहेको थियो। ५१ हजार फलोअर्स रहेको ‘किताब किरो’ यति लोकप्रिय बनिरहेको थियो कि कतिपय प्रकाशन संस्था उनको अकाउन्टबाटै आफ्नो पुस्तकको प्रचारका लागि आग्रह गर्थे।

‘पुस्तक भनेको पाठ्यक्रम मात्र हो भन्ने पाठक (प्रयोगकर्ता)लाई टिकटकमार्फत राम्रा पुस्तक पढ्न प्रेरित गरिरहेको थिए,’ रेग्मी भन्छन्, ‘नेपालमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको अवस्थामा प्रयोगकर्तालाई त्यसप्रति थप प्रोत्साहन गर्न विभिन्न पुस्तक सिफारिस गर्नेदेखि समीक्षासम्म गर्दै आइरहेको हुँ।’ उनी टिकटकमा देखिएका राम्रा र नराम्रा सामग्रीलाई सरकारले छुट्याउन नसकेको गुनासो गर्छन्।

‘विकृति फैलाउनेको खाता सरकारले बन्द गर्न सक्थ्यो तर विचारै नगरी प्रतिबन्ध लगाइदियो,’उनी भन्छन्। नेपालजस्तो विकासोन्मुख देशमा टिकटकले रोजगारीको अवसरसमेत सिर्जना गरेको बताउँदै उनी सरकारले यसतर्फ ध्यान नै नदिएर ठुलो गल्ती गरेको तर्क गर्छन्।

‘म कन्टेन्ट क्रियटरसमेत भएकाले टिकटक मेरा लागि आम्दानीको स्रोत हो। सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि मलाई व्यवसायमा ठुलो धक्का लागेको छ,’ रेग्मीको गुनासो छ, ‘सरकारले जति सक्दो चाँडो यसलाई खोलेर हामीजस्ता साना व्यवसायीको जीवननिर्वाह सहज बनाउनुपर्छ, नत्र विकल्प दिनुपर्छ।’

झन्डै पाँच वर्षदेखि टिकटकमार्फत ट्रेकिङसम्बन्धी पोसाक व्यवसाय प्रवद्र्धन गर्दै आएका काठमाडौं बौद्धका सोनम लामा पनि सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि चिन्तित छन्। उनको टिकटक एकाउन्टका फलोअर्स झन्डै १० हजार थिए। त्यस्तै ९० हजारले उनको टिकटक एकाउन्ट मन पराएका थिए। टिकटक नचलेपछि ट्रेकिङसम्बन्धी पोसाक व्यापार प्रभावित भएको उनले बताए।

‘सामाजिक सञ्जाल टिकटकमार्फत ट्रेकिङसम्बन्धी विभिन्न पोसाक बिक्री गर्दै आएको थिए। टिकटकमा प्रतिबन्धपछि व्यापार ह्वात्तै घटेको छ,’ उनले भने, ‘पसल छैन, टिकटक नचल्ने भएकाले ग्राहकसँग जोडिन सकिएको छैन। फेसबुकको रिल टिकटकजस्तो प्रभावकारी छैन। ग्राहकले हाम्रो सामान टिकटकमार्फत हेरेर अर्डर गर्थे। टिकटक बन्द भएपछि बेरोजगारजस्तै हुनुपरेको छ।’

सरकारले नीति बनाएर टिकटक पुनः सञ्चालन गर्नुपर्ने उनको माग छ। ‘टिकटकमार्फत सामाजिक सद्भावमा असर पार्ने काम कसैले गरेको भए नियम बनाएर नियन्त्रण गर्न सकिन्थ्यो,’ उनले भने, ‘टिकटकमै प्रतिबन्ध लगाउनु जायज होइन। सरकारले नियमन र नियन्त्रण गर्ने नीति लिएको भए टिकटकमा केन्द्रित रहेर व्यापार गर्नेहरू बेरोजगार हुनुपर्दैनथ्यो।’

कोरोना महामारीपछि सुधारोन्मुख अवस्थामा रहेका साना व्यापारी टिकटकमाथि प्रतिबन्ध लागेसँगै फेरि प्रभावित भएका छन्। प्राकृतिक र हस्तनिर्मित साबुन उत्पादन गरेर टिकटकको माध्यमबाट बिक्री गर्दै आएकी ‘मदर्स म्याजिक’की सञ्चालिका नुरानी ढुंगेल अहिले व्यापार ठप्प भएको बताउँछिन्।

झन्डै २५ सय फलोअर्स र २२ हजार लाइक्स पाएको ‘मदर्स म्याजिक’ को टिकटक एकाउन्टलाई अहिले डोमेन नेम सिस्टम (डिएनएस) बाट चलाउने गरे पनि प्रभावकारी हुन नसकेको उनको गुनासो छ। ‘मैले ६ महिनादेखि सामाजिक सञ्जाल टिकटकमार्फत घरमा बनाएको साबुन बिक्री गर्न थालेकी थिएँ,’ उनले भनिन्, ‘मासिक २ लाख रुपैयाँ हाराहारीमा आम्दानी हुन्थ्यो। सरकारले टिकटकमा प्रतिबन्ध लगाएसँगै व्यापार ह्वात्तै घटेको छ । अहिले दैनिक चारवटा साबुन बेच्न पनि मुस्किल छ।’

सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि साना–साना उद्यमी, व्यवसायीदेखि सेवाग्राहीसम्मलाई असर परेको गुनासो उनले गरिन्। उनले सामाजिक सञ्जालका अन्य माध्यमबाट साबुन बिक्री गर्न सुरू गरे पनि टिकटकजस्तो प्रभावकारी हुन नसकेको बताइन्। उनका अनुसार टिकटकमा प्रतिबन्ध लगाएपछि डिजिटल मार्केटिङ गर्न खर्चिलो भएको छ। 

अनलाइनबाट व्यवसाय गर्ने उद्यमी र व्यवसायीका लागि वैकल्पिक उपायका रुपमा टिकटकले प्राथमिकता पाएको दाबी साना तथा मझौला व्यवसायीको छाता संस्था राष्ट्रिय व्यापार संघका महासचिव बैकुण्ठ दाहालको छ। देशभरि झन्डै १२ सयभन्दा बढी सदस्य रहेको यस संघका केही सदस्यले टिकटकबाट व्यवसाय गरिरहेको उनले बताए।

‘कोरोना भाइरसका बेला व्यापार टिकाउन ग्राहो भएको अवस्थामा टिकटकले वैकल्पिक रूपमा प्राथमिकता पाइरहेको थियो,’ उनले भने, ‘व्यवसायीले सस्तो मूल्यमा उपभोक्तालाई सामान र सेवा प्रदान गरिरहेका थिए। टिकटक हेरेर सामान खरिद गर्ने उपभोक्ता बढिरहेका थिए। टिकटकमा सरकारले प्रतिबन्ध लगाएपछि साना र मझौला व्यवसायीहरू प्रत्यक्ष मारमा परेका छन्। टिकटकले विभिन्न व्यवसायको कारोबार बढाएको थियो।’

काठमाडौं कोटेश्वरकी अन्जली कार्कीले टिकटककै कारण आफूले फेन्सी, कस्मेटिक र विभिन्न घरेलु परिकार तयार गर्न जान्ने भएको बताइन्। ‘हामीजस्ता गृहिणीका लागि टिकटकले सामान बेच्न र खरिद गर्न सहज बनाइदिएको थियो,’ कोरोना महामारीका बेलादेखि टिकटक चलाउन थालेकी उनले भनिन्।

डिजिटल अधिकारबारे पैरवी गर्दै आएका डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक अधिवक्ता सन्तोष सिग्देलले सरकारले हचुवाका तालका टिकटकमा प्रतिबन्ध लगाएको बताए। ‘टिकटकका केही प्रयोगकर्ताले विकृति फैलाएको भन्ने आधारमा सरकारले टिकमाथि नै प्रतिबन्ध लगाउनु गलत हो,’ उनले भने, ‘टिकटकले रोजगारीका अवसरसमेत सिर्जना भइरहेको अवस्थामा नियमन नै नगरीकन सरकारले हतारमा रोक लगाउने निर्णय गर्नु गलत हो।

यसबाट नागरिक र उद्योग डिजिटल अधिकारबाट वञ्चित हुनुपरेको छ।’ इन्टरनेटमा आधारित भएर चल्ने सामाजिक सञ्जाललाई अभिव्यक्ति स्वतन्त्रताको माध्यम मानिन्छ ।

उनले भने, ‘नागरिकको स्वतन्त्रतामाथि अंकुश लगाउने काम सरकारबाट भएको छ । सरकारले टिकटकमा प्रतिबन्ध लगाउनुअघि कानुन बनाउनुपर्छ । कुनै आधारबिना प्रतिबन्ध लगाउन पाइन्न।’

डिजिटल मार्केटिङका लागि गुगल, फेसबुक, इन्स्टाग्राम, एक्स र भाइबरजस्ता माध्यमलाई उछिन्दै टिकटक अगाडि आएको थियो। टिकटक एकसाथ धेरै प्रयोगकर्तामाझ पुग्ने भएकाले हरेक उमेर समूहका प्रयोगकर्ता सहज रूपमा यसमा आबद्ध थिए। चलचित्र निर्माता तथा हास्य कलाकार दीपकराज गिरी नेपाली समाजमा टिकटक रमाइलो सँगसँगै जानकारी लिने प्लेटफर्म बन्दै गएको स्मरण गर्छन्।

‘गीतमा लिपसिङ गर्दै बनाइने टिकटक भिडियो नेपाली फिल्मको व्यापार बढाउने माध्यम बनिसकेका थियो,’ उनले भने, ‘बिनापैसा धेरैभन्दा धेरै मानिससम्म पुग्ने माध्यम टिकटक सही ढंगमा प्रयोग गर्न सके फलदायी हुन्छ। यसको माध्यमबाट व्यापार पनि फस्टाउँदै गएको थियो। तर सरकारले यसको आवश्यकता महसुस गर्न सकेन ।’

टिकटकमाथि प्रतिबन्ध लगाइँदा व्यवसायी र उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्। टिकटकको माध्यमबाट विवाह तथा विभिन्न पार्टी केन्द्रित पोसाक बिक्री गरिरहेको केबी फेसन स्टुडियोकी कौशिला महत क्षेत्री भन्छिन्, ‘टिकटकमा मेरो डिजाइन हेरेर उपत्यका वरपरबाट पोसाक अर्डर गर्न दिन आउने ग्राहक धेरै थिए ।

टिकटक नै बन्द गरिदिएपछि हामीजस्ता कैयौंको रोजीरोटी प्रभावित भएको छ।’ अन्य सामाजिक सञ्जालको तुलनामा टिकटकबाट मार्केटिङ गर्दा पैसा खर्चिनुनपर्ने भएकाले यो प्लेटफर्म व्यापार प्रवर्धनका लागि सबैभन्दा बढी प्रभावकारी भएको उनको अनुभव छ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेसनका अध्यक्ष दिलीप अग्रवालले टिकटकमा नकारात्मक सामग्री राखेर समाजमा विकृति फैलाउने काम भइरहेको अवस्थामा टिकटकमाथि प्रतिबन्ध लगाउनु सही भएको बताउँछन्। ‘सामाजिक सञ्जाल टिकटकका माध्यमबाट समाजमा विकृति फैलाउने काम भएपछि सरकारले यसमाथि प्रतिबन्ध लगाएको हो,’ उनले भने।

सामाजिक सञ्जाल टिकटक प्रयोग हुने मोबाइल फोनको तथ्यांक राख्ने स्टार्ट आइओका अनुसार नेपालमा यसका २२ लाख प्रयोगकर्ता थिए। जसमा ५७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुष थिए। टिकटकमार्फत व्यवसाय फस्टाएका ‘आई एम सुजिता न्यौपाने, मेरिका ब्युटी सलोन, ‘शान्तास् ब्युटी सलोन र बुटिक एन्ड कलेक्सन’ का क्रमशः १ लाख ५५ हजार, १ लाख ४२ हजार, ८८ हजार र ८० हजारभन्दा बढी फ्लोअर्स थिए।

त्यस्तै नेपालमा टिकटकबाट उदाएका स्टारहरू प्रिस्मा एन्ड प्रिन्सी, अ स्क्वायर क्रुज, आयुष, सुन्दर घलान र बिना शाक्य बेली डान्सरलगायतका फ्लोअर्स लाखौं थिए।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आई–स्पान) का अनुसार कोरोना महामारीमा लकडाउन भएपछि नेपालमा टिकटक प्रयोगकर्ताको संख्या अस्वाभाविक रूपमा वृद्धि भएको हो।

गत कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो। टिकटक बन्द गर्नुको कारणबारे सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस दिन भनेकी थिइन्, ‘सामाजिक सञ्जाल टिकटकबाट लगातार सामाजिक सद्भाव बिथोलिने गरी, हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलल पार्नेगरी प्रचारप्रसार भइरहेका छन्।

यस सन्दर्भमा तत्काललाई टिकटक बन्द गर्ने निर्णय भएको छ।’ यसअघि भारत, क्यानडा, अफगानिस्तान, ताइवान अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, नेदरल्यान्ड्सलगायतका देशले पनि टिकटकमा प्रतिबन्ध लगाइसकेका छन्।

विद्युतीय माध्यमबाट सञ्चालन हुने व्यापारको व्यवस्थापन गर्न सरकारले गत असार पहिलो साता ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभामा पेस गरेको थियो। कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई विद्युतीय व्यापार गर्ने कानुनी आधार तयार पार्न यो विधेयक बनाइएको हो।

प्रकाशित: ६ पुस २०८० ०४:३५ शुक्रबार

सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध व्यवसायी टिकटक अकाउन्ट तारानिधि रेग्मी संस्कृति प्रवर्द्धन विकृति व्यवसायमा ठुलो धक्का प्रिस्मा एन्ड प्रिन्सी