समाज

जब अन्तरिक्षको टमाटर हरायो

यस्ताे पनि

नासाले अन्तरिक्षमा टमाटर फलाउने परीक्षण गरिरहेको छ। यसको रेखदेख गर्ने काम अन्तरिक्ष यात्री फ्रान्क रुबियोको थियो। उनले अन्तरिक्षमा ३५६ दिन बिताएका थिए। अहिलेसम्म लामो समयसम्म अन्तरिक्षमा एक्लै बिताउने व्यक्तिका रूपमा समेत उनी चिनिन्छन्।

रुबियोले अन्तरिक्षमा बस्दा टमाटर रोपे, हुर्काए र फलाए पनि। फलेका दुई वटा टमाटरमध्ये एउटा टमाटर हरायो। पाकेर रातो भएको सो टमाटर हराएपछि धेरैले सो टमाटर रुबियोले खाए कि भन्ने सोचे।

जब उनी पृथ्वीमा फर्किए, उनलाई केरकार गरियो। उनले सो टमाटर आफूले नखाएको बरु, त्यतै कतै खसेको हुन सक्ने सम्भावना जनाए। त्यसपछि वैज्ञानिकहरू हराएको टमाटर खोज्नतर्फ लागे।

नासाका एक अधिकारी भन्छन्, ‘अन्तरिक्षमा टमाटर फलाउनु दुर्लभ कुरा हो। अझ यो टमाटर त झनै दुर्लभ हो किनभने सूर्यको प्रकाश बिना नै टमाटर फलेको थियो। वैज्ञानिक अनुसन्धानका क्षेत्रमा यसको महत्व निकै ठूलो छ। अब यो टमाटर अन्य टमाटरजस्तै पौष्टिक छ कि छैन, छैन भने के फरक छ आदि अनुसन्धान हुनै बाँकी छ।’

त्यसो त रुबियोले यो टमाटर खाएको भए संसारकै महँगो टमाटर खाएको कीर्तिमान हुनसक्थ्यो किनभने नासाले जुन दुःख र प्रयासका साथ अन्तरिक्षमा यसलाई फलाइरहेको थियो, त्यसका लागि करोडौं डलर खर्च भएको छ। त्यो जोड्ने हो भने त त्यो टमाटरको मूल्य कता हो कता उक्लने छ।

नासाले केरकार गरेपछि उनले टमाटर कहाँ खस्यो होला भनी २० घण्टाभन्दा बढी समय लगाएर पृथ्वीबाटै खोजेका थिए। उनको प्रयास पनि सफल नभएपछि न्युयोर्क टाइम्ससँग रुबियोले भनेका छन्, ‘कुनै दिन कुनै वैज्ञानिकले हराएको टमाटर अवश्य फेला पार्नेछ र ममाथि लागेको दाग मेटाउने छ।’

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ६ पुस २०८० ००:५२ शुक्रबार

नासा अन्तरिक्ष यात्री फ्रान्क रुबियो न्युयोर्क टाइम्स