समाज

सामलतुमल बोकेर ट्युसन पढ्न बजारमा

जुम्लाको सिँजा–४ का धर्म बुढा महिना दिनका लागि खाद्यान्न, आवश्यक लत्ताकपडा र भाँडाकुँडा बोकेर सदरमुकाममा खलंगा बजार झरेका छन्।

ल्याएका सामग्री अपुग भए गाउँबाट आउने आफन्तले चामल, मकै, सिमी, पिठो (धुलो) आलु, भटमासलगायत खाद्यान्न ल्याइदिने भएकाले उनलाई ढुक्क छ। भैरव मावि नराकोट कक्षा १० मा पढ्ने उनलाई ‘ट्युसन’ कै लागि खलंगा झर्नुपर्ने बाध्यता आइलागेको हो।

जुम्लाका विद्यालयमा हिउँदमा पढाइ हुँदैन। त्यसैले ट्युसन पढ्न सहर झर्ने विद्यार्थीको लर्को छ। भैरव माविकै कक्षा प्रथम विद्यार्थी मानबहादुर बुढा पनि पढ्नकै लागि घर छाडेर खलंगा गएको दुई साता भइसक्यो । उनीसँगै ३६ विद्यार्थी खलंगामा ट्युसन पढ्छन् । अंग्रेजी, गणित, विज्ञान, ऐच्छिक गणित गरी चार विषयको ट्युसन पढ्न उनीहरूले गाउँ छाडेका हुन्। 

एउटा विषयको ट्युसन पढ्न विद्यार्थीले महिनामा कम्तीमा २ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। विद्यालयमा कोर्स नसकिएकाले ट्युसन पढ्नैपर्ने बाध्यता भएको उनीहरू बताउँछन्। उनीहरूले तीन महिना ट्युसन पढ्दा ५० देखि ६० हजार रुपैयाँ खर्चिनुपर्छ ।

यता सोही गाउँपालिका–५ कैलाश माविका अर्का विद्यार्थी शेर रोकाया पुस लागेलगत्तै सुर्खेत पुगेका छन् । बहिनी दिलमाया रोकाया पनि लोकसेवाको तयारीका लागि साथैमा गएकी छन्। तीन महिनालाई खर्चको जोहो गरेर हिँडेका उनी चैतमा घर फर्किने बताउँछन्। 

‘गाउँमा धेरै जाडो हुन्छ, पढाइ पनि गतिलो हुँदैन,’ उनले भने, ‘त्यसैले एसइई दिने विद्यार्थीले हिउँदमा ट्युसन पढ्न जिल्ला छोड्ने चलन नै बसिसकेको छ।’ यो जुम्लाको मात्रै होइन, साबिक कर्णालीका पाँच वटै जिल्लाको रित हो।

सिंजा–६ का मावि जोडुमा १० कक्षा अध्ययनरत सक्सेस बुढालगायत ३० जनामध्ये अधिकांश विद्यार्थी सुर्खेतमा ट्युसन पढ्दैछन् भने कोही नेपालगन्ज, खलंगालगायत सहरमा झरेका छन्। 

आर्थिक रूपमा विपन्न बालबालिका पनि पाएसम्म ऋणसापटी गरेर पढ्न बाहिर जाने गरेको विद्यालयका प्रधानाध्यापक नरबहादुर बुढाले बताए। सिंजा क्षेत्रका तिला, हिमा, सिंजा र कनकासुन्दरी र बजारतिरका पातारासी, गुठीचौर, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिकामा पर्ने विभिन्न विद्यालयका एसइई तयारीमा रहेका अधिकांश विद्यार्थी ट्युसन पढ्न घरबाट खर्च लिएर जुम्लाको सदरमुकाम खलंगा, सुर्खेतलगायत ठाउँमा झरिसकेको सिंजा गाउँपालिकाअन्तर्गतको शिक्षा शाखा प्रमुख शंकर धितालले बताए।

जाडोका कारण जुम्लाका विद्यालयमा पुस र माघमा पठनपाठन बन्द हुने गरेको धितालले जानकारी दिए। एसइर्ई दिने विद्यार्थी ठुलो संख्यामा जिल्ला बाहिर गए पनि आर्थिक अवस्था कमजोर भएर टाढा जान नसक्नेहरू जिल्लाभित्रै ट्युसन पढ्ने गर्छन्। सदरमुकाम मान्ममा रहेका चारवटा ट्युसन सेन्टरमा करिब ३ हजार विद्यार्थी पढ्छन् । अंग्रेजी, गणित, ऐच्छिक गणित र विज्ञान विषयको ट्युसन पढ्न गाउँबाट विद्यार्थीले प्रतिविषयको ३ हजारका दरले मासिक शुल्क तिर्ने गरेको स्थानीय शिक्षक रामबहादुर बुढाले बताए ।

जुम्लाका ट्युसन सेन्टरले मंसिर तेस्रो सातदेखि फागुन अन्तिमसम्म ट्युसन पढाएर वर्षभरिको खर्च उठाउँछन् । सिजनमा राम्रै कमाइ हुन्छ, डाइनामिक ट्युसन सेन्टरका व्यवस्थापक भीम थापाले भने, ‘सेवा दिएका छौं, ट्युसन पढेका विद्यार्थीको नतिजा पनि राम्रो देखिएको छ।’ उनले अहिले दैनिक करिब १०० जति विद्यार्थीलाई ट्युसन पढाइरहेको बताए । जुम्लामा अल्फा, डाइनामिक, ब्राइट फ्युचर र न्यु भिजन ट्युसन सेन्टर सञ्चालनमा छन्।

थप पढनइका लागि कर्जा–सापटी गरेरै भए पनि बालबालिकालाई ट्युसन पढ्न जुम्ला र सुर्खेत पठाउनुपरेको अभिभावक भोटे बुढा बताउँछन्। उनले भने, ‘एसइई नजिकिएको छ। बालबालिकाले कोर्स पूरा भएको छैन। 

जुम्ला वा सुर्खेत पठाउनुको विकल्प छैन । उनका छोरा १६ वर्षीय लोगजुन र १४ वर्षीया छोरी धनमाया अहिले ट्युसन पढ्न जुम्ला बजारमा छन्। सबै सरोकारवालाको सहयोग नभएसम्म विद्यालय सुधार गर्न कठिन भएको गुनासो गरे। विद्यार्थीको नियमितता, गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण, व्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीबीच सुमधुर सम्बन्ध हुने हो भने केही सुधार आउने बताइएको छ।

प्रकाशित: ४ पुस २०८० १६:५० बुधबार