समाज

अमलेखगञ्ज दुर्घटनाका घाइतेहरूको खुल्यो परिचय

क्याप्शन

जितपुरसिमराको अम्लेखगन्जस्थित ३ नम्बर पुलको मोडमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरूको परिचय खुलेको छ।

बुधबार बिहान एक बजेतिर ट्रक र बस आपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए। झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आपसमा ठोकिएको बारा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दाधिराम न्यौपानेले मृत्यु हुने तीनजना मध्ये दुईजनाको परिचय खुलेको बताएका छन्। मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटार बस्ने पुर्ण गुरुङ र बस चालक मकवानपुर हेटौँडा ३ का हरिशमशेर सुयाल थापा रहेको उनले बताए । अर्का एकजना मृतकको सनाखतको गर्न नसकिएको उनले बताए।

यसैगरी घाइतेहरूमा तनहुँ बन्दीपुरका तेजकुमार गुरुङ, सुनसरी भातिका २ का खिलराज दुलाल, सुनसरी इटहरी ४ का सुरेन्द्र गौतम, निजकी पत्नी सम्झना गजुरेल, छोरी सोराय गौतम र उनीहरूकै तीन वर्षीय छोरा सोडनेम गौतम रहेको न्यौपानेले बताए।

घाइतेमध्ये सहचालक झापा दमक बस्ने नगेन्द्र उप्रती, चुलाछुटी ५ का वीरबहादुर तामाङ, कमल गाउँपालिकाका पुणम गुरुङ, संखुवासभा ९ का चन्द्रबहादुर तामाङ र बिर्खबहादुर तामाङ पनि घाइते भएको प्रहरीले जनाएको छ।

यसैगरी इलाम माइजुका विनोद तामाङ, चुलाडुली ३ का मनोजकुमार लिम्बु, प्रवेश पटेल रहेको बारा प्रहरीले जनाएको छ। बस दुर्घटनामा परी भारत आन्ध्र प्रदेश बस्ने सिडिमाया र सोही ठाउँकी नामा एम झसे, श्रीग धौगा, पासाङ काण्डु, भारतीय नागरिक छोमी लोप्चा र उनका पति नामग्याल लोप्चा तथा छोरी माया लोम्चा पनि घाइते भएको प्रहरीले जनाएको छ।

 प्रहरीका अनुसार सामान्य घाइते हुनेमा झापाका हरिनारायण विश्वकर्मा, सुनसरीका अनिलकुमार थापा, झापाकै धनबहादुर लिम्बु तथा नयन खनाल छन् भने भारतीय नागरिक छिरिङ पालदेन तथा उर्लाबारीका अमी श्रेष्ठ पनि सामान्य घाइते भएका छन्।

प्रकाशित: ४ पुस २०८० ०६:३८ बुधबार

अमलेखगञ्ज दुर्घटना घाइतेहरुको परिचय खुल्यो