समाज

क्षतिग्रस्त झोलुङ्गे पुल वर्षदिन बित्दा पनि मर्मत हुन सकेन

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल। नागरिक

राप्तीको बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बासखोली–भवानियापुर जोड्ने झोलुङ्गे पुलमा २०७९ साल असोजमा आएको बाढीले क्षति पुर्‍याएको थियो।

झोलुङ्गे पुलमा क्षति पुगेको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म मर्मतमा बेवास्ता गरिएको स्थानीयको गुनासो छ। राप्तीपारी भवानियापुर गाउँका स्थानीय मोहनराज डाँगीले क्षतिग्रस्त झोलुङ्गे पुलको अवस्था अत्यन्त दयनीय रहेको र जुनसुकै बेलामा पनि पुल खस्न सक्ने जोखिम रहेको बताए।

‘बाढीले गर्दा झोलुङ्गे पुलका तारहरु (लठ्ठा) चुडिएका छन्, बाढीले बगाएको रुख पुलमै आएर अड्किएको छ, पुलका प्लेटहरु पनि मान्छे खस्ने जस्ता भएका छन्, कुन दिन पुल नै खसेर ठुलो मानवीय क्षति हुने अवस्था छ,’ डाँगीले नागरिकसँग भने। बाढीका कारण बांगिएको उक्त झोलुङ्गे पुल अझैपनि मर्मत नभए थप क्षति हुने उनले बताए।

पुल मर्मतका लागि राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कार्यालयले विभागमा पटक–पटक पत्र पठाएपनि वास्ता नभएको जनाएको छ। राप्ती सोनारी १ का वडाअध्यक्ष यमबहादुर खड्काले क्षतिग्रस्त पुल मर्मत गरिदिन ४/५ पटक जति पत्र पठाइसकेको सुनाए। ‘क्षतिग्रस्त पुल हेर्न सांसदहरु आउनु भयो, गाउँपालिकाबाट पनि अध्यक्ष आएर हेर्नुभयो, दुई पटक झोलुङ्गे पुल शाखाका प्रविधिकहरु आएर फर्के,’ उनले भने ‘गतवर्ष मर्मत गर्नलाई पैसा छैन भन्यो, यो वर्षपनि मर्मत हुने छाँट छैन।’ 

पुलको दुबैतिरका तारलाई बाढीले चुडाएका कारण जतिबेला पनि पुल खस्न सक्ने अवस्था रहेको वडाअध्यक्ष खड्काले सुनाए। उनले थपे, ‘वडा कार्यालयले गर्नुपर्ने पहल गरेको हो, तर हाम्रो मेहेनतको कतैबाट पनि सुनुवाई भएन।’ हिँड्नै नमिल्ने पुलबाट मान्छेहरु बाध्यताले ओहोर–दोहोर गर्नु परिरहेको वडाअध्यक्ष खड्काले बताए।

उक्त झोलुङ्गे पुल भएर राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ भवानियापुर, खुटी गाउँ लगायत सहित दाङ राजपुर गाउँपालिकाको भौवा, भैसाही तथा भारतबाट समेत ठुलो संख्यामा तिर्थयात्रीहरु आवत–जावत गर्छन्। पुलमा बाढीले क्षति गरेपछि नाजुक अवस्थामा आवत–जावत गर्नु परिरहेको अर्का स्थानीय मनोज बैश्यले बताए। 

संघ र प्रदेशका सांसदले निर्वाचनका बेला आफ्नै आँखाले देखेको पुलको दुरावस्थालाई अहिले बेवास्ता गरेको उनको गुनासो छ। ‘आफ्नै क्षेत्रका सांसदले वास्ता गरेनन्, मर्मत गर्ने निकायले पनि बेवास्ता गर्यो, हामी जनताले कहाँ गएर कसलाई भन्ने? वाक्क दिक्क भएर मिडियालाई गुहारेका हौं,’ उनले भने।

शहरी विकास मन्त्रालयको स्थानीय पुर्वाधार विभाग अन्तर्गत झोलुङ्गे पुल डिभिजनका इन्जिनियर प्रवेश रेग्मीले बाँकेको कुसुमसहित देशका अन्य ठाउँका झोलुङ्गे पुलहरु मर्मत गर्न प्राविधिक टोली पुगेर स्टिमेट गरेपनि बजेटकै कारण गतवर्ष कामहरु रोकिएको बताए। ‘बाँकेको त्यो झोलुंगे पुल पनि हेरेर प्राविधिक टोली फर्केका हुन्, गतवर्ष नयाँ निर्माण र मर्मतको कुनै काम भएनन्, अर्थ मन्त्रालयले सहमती दिएन,’ उनले भने।

स्थानीय पुर्वाधार विकास आयोजना कार्यालय बुटवलले हेर्छ

शहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विभाग अन्तर्गत स्थानीय पुर्वाधार विकास आयोजना कार्यालय बुटवलले लुम्बिनी प्रदेशभित्र रहेका झोलुङ्गे पुलहरु हेर्ने गरेको छ। 

आयोजना कार्यालयका इन्जिनियर राजु थापामगरले आफुहरु बाँकेमा पुगेर बाढीले क्षति गरेको झोलुङ्गे पुलको निरीक्षण गरेर स्टिमेट समेत तयार गरेको सुनाए। ‘स्टिमेट तयारी अवस्थामा थियो, तर बजेटमा अर्थ मन्त्रालयले सहमती नदिँदा काम हुन सकेन,’ उनले भने।

प्रकाशित: ४ पुस २०८० ०५:३७ बुधबार

राप्ती बाढी झोलुङ्गे पुल पुल मर्मत दुर्घटनाको जोखिम राप्ती सोनारी गाउँपालिका झोलुङ्गे पुलमा क्षति