समाज

इलाका प्रशासन कटारीमा ‘ध्वनी नागरिक बडापत्र’

उदयपुर- उदयपुरको पश्चिमी बजार कटारीस्थित इलाका प्रशासन कार्यालयले पनि ‘ध्वनी नागरिक बडापत्र’ सञ्चानलमा ल्याएको छ। इप्रका कटारीले बिहीबारदेखि ध्वनी बडापत्र सञ्चालनमा ल्याएको हो। साता दिन अघिदेखि एमआरपी (राहदानी) वितरणको काम थालेको कार्यालयले कार्यालयको सेवा चुस्त बनाउन ध्वनी बडापत्रको सुरुवात गरेको जनाएको छ।

काम लिन आउने सेवाग्राहीलाई सहजरुपले सेवा दिने उदेश्यले ध्वनी बडापत्र सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। आवाजको माध्यमबाट कार्यालयबाट प्राप्त हुने सेवा सुविधा छिटो छरितो उपलब्ध गराउन अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी गराउन ध्वनी बडापत्र सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख सुनिल पौडेलले बताए। उनका अनुसार ध्वनी बडापत्रले निरक्षर सेवाग्राहीलाई पनि सेवा लिन सहज हुने लक्ष्य कार्यालयले लिएको छ।

यसअघि लिखित बडापत्र राख्ने प्रचलन भए पनि धेरै सेवाग्राही बडापत्र हेर्नुको साटो कार्यालयमा आएर सोधपुछ गर्ने तथा कामको जानकारी लिन खोज्दा लेखापढी व्यवसायीको पासमा परेर खर्च गर्न बाध्य हुने गरेको भन्दै ध्वनी बडापत्र कार्यान्वयनले सहज गराउने उनले बताए। कतिपय सामान्य काम लिन आउने सेवाग्राही पनि बडापत्र नपढी आउने गरेका कारण दुःख पाईरहेको हुनाले सहज सेवा प्रवाहमा ध्वनी बडापत्रले सहयोग पुग्ने उनको ठहर छ।

कार्यालय परिसरमा राखिएको साउण्ड सिस्टममा विहान १० बजेदेखि नै ध्वनी नागरिक बडापत्रमार्फत कार्यालयबाट उपलब्ध सेवा सुवधाबाट घण्टैपिछे जानकारी गराइने गरेको छ। सेवाग्राहीहरु बडापत्रमा भनिए अनुसार तोकिएको कामका लागि आवश्यक कागजात लिएर कोठा नम्बर, सम्पर्क व्यक्तिलाई भेटेर काम लिन थालेका छन्।

प्रकाशित: १३ माघ २०७४ ०८:२६ शनिबार

इलाका प्रशासन कटारीमा ध्वनी नागरिक बडापत्र