समाज

न्यायाधीशहरूविरुद्ध परेको उजुरी टुंगो लाग्छ: प्रधानन्यायाधीश श्रेष्ठ

न्याय परिषद्ले आफ्नो स्थापनाको ३३ औं दिवस आज सोमबार मनाएको छ। स्थापना दिवसको उद्घाटन गर्दै न्याय परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशहरुविरुद्ध परेको उजुरीको टुंगो लगाउने बताएका छन्। परिषद्ले आफ्नो जिम्मेवारीलाई वस्तुनिष्ठ बनाउँदै लगेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई छ। 

‘परिषद्प्रति रहेका निराशालाई आसा र भरोसामा बदल्ने प्रयास भइरहेको छ’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘न्यायाधीशहरुविरुद्ध परेको उजुरीको पनि टुंगो लगाउने प्रयास भइरहेको छ।’

न्यायाधीशहरूको नियुक्ति, सरुवा, बर्खास्त, अनुशासन सम्बन्धी कारबाही गर्ने जिम्मा पाएको न्याय परिषद्ले आज स्थापना दिवस मनाएको हो। २०४७ सालको संविधान जारी भए पछि न्याय परिषद् स्थापना भएको थियो।

न्याय परिषद्ले गत वर्षमा उत्कृष्ट काम गर्ने उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यलाई सम्मान गरेको छ। सम्मानित न्यायाधीशहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रकाशित: ३ पुस २०८० १०:४७ मंगलबार

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ