समाज

एनसेलविरुद्ध अमरेशको मुद्दामा सुनुवाइ सुरु

सर्वोच्च अदालतमा डेढ सातादेखि पालो कुरिरहेका प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहको एनसेलविरुद्धको रिट निवेदनमा आज सुनुवाइ सुरु भएको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा सुनुवाइ सुरु भएको हो।

यस गत साताभरि हेर्न नभ्याइनेमा पर्दै आएको एनसेलविरुद्धको मुद्दामा आज बल्ल पालो आएको हो। एनसेलको शेयर खरिदबिक्री प्रकरणविरुद्ध रिट निवेदन दर्ता भएर पेशी चढेर पनि आफ्नै कानुन व्यवसायीले स्थगित गर्दा र अदालतले हेर्न नभ्याउँदा एकसाता सम्म मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो।

कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानी पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री भएको दाबी गर्दै प्रतिनिधिसभाका सदस्य सिंह आफैले रिट निवेदन दर्ता गराएका हुन्। 

यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भैसकेको छ। एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भैसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भैसकेको छ।

रिट निवेदक सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर दर्ता गराएका थिए।

प्रकाशित: ३ पुस २०८० ०७:०४ मंगलबार

सर्वोच्च अदालत अमरेशकुमार सिंह एनसेल