समाज

स्वास्थ्य चौकीलाई डिस्टिलरीको एम्बुलेन्स!

हिमालयन डिस्टिलरीले वीरगन्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ।

वडा कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रदीप यादवले स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।

वडा नं. २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री यादवले उद्योगी व्यवसायीले सामाजिक कार्यमा लगानी गर्नु सकारात्मक पक्ष रहेको बताए।

कार्यक्रममा पूर्ववडाध्यक्ष हबिब मियाँ, हिमालयन डिस्टिलरीका महाप्रबन्धक नवीनकुमार उपाध्याय, लिपनीबिर्ता स्वास्थ्य चौकीका प्रमुख रामेश्वर रामलगायतको उपस्थिति थियो।

सामाजिक सेवाको उद्देश्यले बिरामीलाई अस्पताल पुर्‍याउन सहज होस् भन्ने उद्देश्यले  २० लाख रुपैयाको एम्बुलेन्स स्वास्थ्य चौकीलाई प्रदान गरिएको महाप्रबन्धक उपाध्यायले बताए।

प्रकाशित: ३ पुस २०८० ०२:५४ मंगलबार

हिमालयन डिस्टिलरी वीरगन्ज महानगरपालिका स्वास्थ्य चौकी लिपनीबिर्ता स्वास्थ्य चौकी एम्बुलेन्स वडा कार्यालय