समाज

हुन्डीको काराेबार गर्ने गिरोह पक्राउ

विराटनगर – प्रदेश १ को राजधानी विराटनगरको केशलिया मार्गमा हुन्डीको कारोवार गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । सुराकीको सूचनाको आधारमा प्रहरीले बिहीबार ठूलो परिमाणमा नगदसहित हुन्डीको कारोवार गर्ने चारजनालाई नियन्त्रणमा लिएको हो । 

मोरङ प्रहरीले साँझ गरेको पत्रकार सम्मेलनमा हुन्डीको कारोवार गर्ने चारैजनासहित बरामद रकम सार्वजनिक गरेको छ। विराटनगर–११ स्थित कन्हैया गुप्ताको घर भाडामा लिएर हुन्डीको कारोवार गर्ने चारजनासहित प्रहरीले ३६ लाख १८ हजार २ सय ५० रुपैयाँ समेत नियन्त्रणमा लिएको छ। ‘हुन्डीको अबैध कारोवार भइरहेको सुराकीमार्फत सूचना आइरहेको थियो,’ मोरङ प्रहरीका प्रमुख अरुणकुमार बिसिले भने, ‘सुराकीको सूचानाा भरपर्दो देखिएपछि छापा मारेर नियन्त्रणमा लिएका हौं।’

विराटनगर–६ बस्ने सन्तोषकुमार रौनियार हुन्डी कारोवारको यो गिरोहको मुख्य व्यक्ति हुन्। प्रहरीले उनीसहित विराटनगर–७ बस्ने सुदर्शन साह, विराटनगर–७ कै निरञ्जनकुमार साह र विराटनगर–१७ का साकिब आलमलाई पक्राउ गरेको छ। प्रहरीले हुन्डी कारोवारको लगत राखिएको कागजात र भारतीय सिम पनि बरामद गरेको छ। 

गुप्ताको घर भाडामा लिएर ‘कार्यालयजस्तो’ बनाएर त्यहाँबाट उनीहरुले हुन्डीको कारोवार गरिरहेका थिए। एसपी बिसिका अनुसार भारतका बिभिन्न ठाउँमा हुन्डीमार्फत पैसा पठाउने काममा यो गिरोह सक्रिय थियो। ‘भारतमा पैसा पठाउनु परे यो गिरोहले यहाँ संकलन गर्ने र सम्बन्धीत ठाउँमा पुर्‍याउने काम गरेको देखिन्छ,’ उनले भने। 

हुन्डी कारोवारमा पक्राउ परेपनि कारवाही गर्ने ऐन नभएकाले सम्पति शुद्धिकरणमार्फत अनुसन्धान अगाडि बढाइने एसपी बिसिले बताए । बरामद भएको सम्पतिको स्रोत नखुलेकाले पैसा र नियन्त्रणमा लिइएका व्यक्तिलाई सम्पति शुद्दिकरण आयोग कार्वाहीका लागि पठाइने उनले बताए। 

मोरङ प्रहरीले केही महिनाअघि करिव ८२ लाख रुपैयाँसहित सेठिया समूहलाई नियन्त्रणमा लिएको थियो। हुन्डी कारोवार गरेको आरोपमा पक्राउ परेका सेठिया समूहको मुद्दा अहिले अदालतमा चलिरहेको छ। उनीहरू पूर्पक्षका लागि कारागारमा छन् । 

प्रकाशित: १२ माघ २०७४ ०५:११ शुक्रबार

हुन्डीको काराेबार गर्ने गिरोह पक्राउ