समाज

काठमाडौं जिल्ला अदालतमा टोकन प्रणालीमा फिराद दर्ता

देशभरका जिल्ला अदालत मध्ये व्यस्त र सेवाग्राहीको भीड हुने काठमाडौं जिल्ला अदालतमा आजदेखि टोकन प्रणाली सुरु गरिएको छ। देशभर सबैभन्दा धेरै मुद्दाको चाप हुने काठमाडौं जिल्ला अदालत हो।

काठमाडौं जिल्ला अदालतले दिने सेवालाई व्यवस्थित गर्न र सेवाग्राहीलाई सहजता पुराउनका लागि टोकन मार्फत पालैपालो प्रणाली सुरु गरेको हो। सेवा लिन पुग्ने पहिलो सेवाग्राहीले टोकन लिएर आफ्नो पालोमा काम गर्न सक्ने भएका छन्।

फिराद दर्ताका लागि आउने सेवाग्राहीलाई टोकन दिने व्यवस्था गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए। उनका अनुसार अदालत पुग्नेहरूले अब भिडभाड गर्न कम हुने र सेवाग्राहीलाई केही सहज हुनेछ। फिराद दर्ता गर्न पुग्ने सेवाग्राहीलाई टोकन अनुसार पालैपालो मुद्दा दर्ता गर्ने र व्यवस्थित तरिकाले काम गराइनेछ।

प्रकाशित: २ पुस २०८० ०७:४५ सोमबार

काठमाडौं जिल्ला अदालत