समाज

नेपाली सेनाद्वारा सुडानमा ४ सयको स्वास्थ्य परीक्षण

काठमाडौं – संयुक्त राष्ट्रसंघको मिसनका लागि दक्षिण सुडानमा खटिएको नेपाली सेनाले ४ सय सुडानी नागरिकको स्वास्थ्य परीक्षण गरेको छ।

सुडानस्थित ग्रेटर ताल क्षेत्रको बुनागोक र कुएबेटमा सेनाले दुई स्वास्थ्य शिविरको आयोजना गरी ४ सयभन्दा बढीको स्वास्थ्य परीक्षण र उपचार गरेको जनाइएको छ।

शान्ति मिसन नागरिक–सैन्य सहयोगको एक हिस्साको रुपमा रहेको र यस भावनाअन्तर्गत नेपाली सेनाको चिकित्सक टोलीले स्वास्थ्य शिविरमा रुघाखोकी, निमोनिया, भाइरल, पेट दुख्ने, स्त्री रोग, मानसिक समस्या, पिठ्यु दुख्नेलगायत रोगको परीक्षण तथा उपचार गरेको छ। चिकित्सकले कुएबेटमा मात्रै २९० विरामीको सर्जरी गरेको छ।

बुनागोकको स्वास्थ्य शिविरमा भने १ सय भन्दा बढी विरामीको उपचार गरिएको थियो। सुडानी नागरिकको चकजाँच तथा उपचारपछि नेपाली सेनाले स्वास्थ्य शिविरमा बाँकी रहेको औषधि र उपकरण स्थानीय स्वास्थ्य केन्द्रलाई दिएको थियो।

सेनाको स्वास्थ्य शिविरमा उपचार पाएपछि सो क्षेत्रका नागरिक हर्षित भएको बताइएको छ। सो क्षेत्रमा नेपाली सेनाले स्कुलका बालबालिकालाई पेन, नोटबुक, पेन्सिल र खेल्नका लागि बलहरु समेत वितरण गरेको थियो।

प्रकाशित: ११ माघ २०७४ ११:२२ बिहीबार

नेपाली सेनाद्वारा सुडानमा सयको स्वास्थ्य परीक्षण