समाज

भूकम्पपीडित कक्रक्क

झरीसँगै परेको हिमपातले सेताम्मे ह्योल्मो क्षेत्रको शेर्माथाङ गाउँ ।

सिन्धुपाल्चोक – भूकम्पपछिको तेस्रो हिउँद पनि अस्थायी टहरामा गुजारिरहेका पीडित बुधबारको झरीले थप कठ्यांग्रिएका छन् । हिमाली क्षेत्रमा झरीसँगैको हिमपातले पीडितका टहरामा ठिही निम्त्याएको छ भने जाडो ह्वात्तै बढ्दा मध्ये तथा बेंसी क्षेत्रकै जनजीवन प्रभावित भएको छ।

जिल्लाका हेलम्बु, किउल, भोताङ, सेलाङ, गोल्चे, गुम्बा, हगाम, पाङताङ, लिस्ति, तातोपानी, मार्मिङ, कर्थली, जेठललगायत गाउँका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ। त्यहाँका भूकम्पपीडितका टहरा हिउँले छोपिएका छन् । पीडित कठ्यांग्रिएको शरीर धुनी जगाएर तताइरहेका छन्।

‘बाक्लो हिउँपात भयो, अचाक्ली जाडो बढायो,’ सेलाङस्थित फुस्रे लेकबाट स्थानीय साङ्गे लामाले टेलिफोनमा नागरिकसँग भने, ‘टहराभित्र आगो बालेर बसेका छौं ।’ उनले जाडोका कारण स्थानीय घरबाहिर निस्कन नसकेको बताए।

चिसोले अस्थायी शिविरमा आश्रित भूकम्पपीडित बढी प्रभावित भएका छन् । सेलाङको बाँसखर्क, जेठलको ओखरेनी लेकलगायत स्थानमा पीडित भूकम्पपछि बस्दै आएका छन्। त्यहाँ ५ सयभन्दा बढी परिवार बसोबास गर्दै आएका छन् । बसोबासको थलो नै अस्थायी भएका पीडितका टहरा नाममात्रैको छ।

टहरामा बालबालिका र वृद्धवृद्धा कठ्यांग्रिएको स्थानीयले बताए । उनीहरूका अनुसार ढिलै गरी हिमपात भए पनि योपटक हिमाली क्षेत्रमा भारी र बाक्लो हिउँ जमेको छ। झरी थामिएर दिउँसो केहीबेर घामसहित आकाश खुल्दा निकै तलसम्म हिउँ जमेको देख्न सकिन्थ्यो।

‘छानामा जमेको बाक्लो हिउँ शीत बनेर टहराभित्र चुहिँदा चिसिएका छौं,’ शेर्माथाङका कर्मातोप्के लामाले टेलिफोनमा भने । चर्चित पर्यटकीय क्षेत्र हेलम्बुसहितका ह्योल्मो क्षेत्र हिउँले ढाकिएर सेताम्मे बन्दा स्थानीय जाडोले कठ्यांग्रिन पुगेको उनले बताए । ‘धुनी जगाउँदा पनि शरीर तात्न हम्मे छ,’ उनले भने ।

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेका सिन्धुपाल्चोकका अधिकांश पीडित ३३ महिनादेखि जस्ता, त्रिपाल, मान्द्रा र स्याउलाले बनाइएका अस्थायी टहरामा बस्दै आएका छन् । पीडितले टहरामा ठिही सहेको यो तस्रो हिउँद हो । भूकम्पपछि कति घर पुनर्निर्माण भए भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार जिल्लामा ४० हजार घर निर्माणाधीन रहे पनि पुनर्निर्माण सम्पन्न घरको संख्या ७ हजार ननाघेको देखाउँछ । जिल्लामा योभन्दा धेरै बढी घर पुनर्निर्माण भएको अनुमान गरिए पनि अधिकांश पीडित टहरामै छन् । जिल्लामा भूकम्पपीडित लाभग्राहीको संख्या ८३ हजार छ ।

बेंसी भए पनि तुसारो र हुस्सुले ढाकिने ब्रम्हायणी, भाटेकोसी, सुनकोसी, इन्द्रावती, मेलम्ची नदी करिडोरका बस्तीमा ह्वात्तै चिसो बढेको छ । पुनर्निर्माणले तीव्रता लिइरहेको जिल्लाका सबै ठाउँमा बुधबार झरी र हिमपातले चिसो निम्त्याउँदा निर्माणसम्बन्धी सबै काम ठप्प हुन पुगे । खेतीकिसानी गर्ने पीडित झरी र हिमपातले खुसी भए पनि सँगै निम्तिएको चिसोले प्रभावित छन् ।


   

प्रकाशित: ११ माघ २०७४ ०३:५७ बिहीबार

भूकम्पपीडित कक्रक्क