समाज

उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

सरकारले समयमा उखुको मूल्य निर्धारण नगरेको तथा भ्याट बापतको भुक्तानी नगरेको कारण किसानको खुँटी उखु खेतमै सुक्न थालेको छ। किसानको संलग्नताबिना उखुको एकतर्फी मूल्य तोकेर किसानलाई जसरी पनि उखु बेच्न बाध्य पार्ने नीतिको कारण खेतमै उखु सुक्न थालेको हो।

कात्तिकदेखि मंसिरसम्म खुँटी उखु बेचिसक्नु पर्ने किसानहरू सरकारी रवैयाको कारण चिन्तित देखिन थालेका छन्। वर्षभरिको समय र खेतीमा गरिएको लगानी नै उखु सुक्न थालेपछि खेर जाने डरले किसान चिन्तित बनेका हुन्।

रौतहटको गढीमाई नगरपालिका २ का उखु किसान भिखर सहनीले बागमती आसपासको जमिनमा लगाइएको खुँटी उखु सुक्न थालेको बताएका छन्। उखु सुक्न थालेपछि उखुको तौल कम हुने तथा चिनीको उत्पादन पनि घट्ने बताएका छन्। उखु सुक्न थालेपछि किसानलाई सबैतिरबाट मर्का परेको सहनीको भनाइ छ।

उखु विशेषज्ञ जगदीश झा भन्छन् – उखुलाई सबैले नगदे बाली भन्छन् तर यो उधारो बालीमा परिणत हुँदै गएको देखिन्छ । किसानप्रति जिम्मेवार राज्य  जिम्मेवार नहुँदा किसान निराश भएको र हरेक वर्ष उखुको खेती घट्दै गएको झा बताउँछन्। किसानले उत्पादन गरेको उखुको मूल्य चिनीको बजार भाउको अनुपातमा सरकारले हस्तक्षेप गरेर निर्णय गर्नुपर्ने झाको तर्क छ।

उखु किन्ने चिनी उद्योगीहरू उद्योग चलाउन तयार अवस्थामा छन्। यता किसानको खेतमा उखु सुके पनि मूल्य निर्धारण हुन नसकेको कारण उद्योगलाई उखु बेच्न किसानहरूले असमर्थता जनाइरहेको अवस्था छ। सरकारले तत्काल उखुको मूल्यको कुरा नमिलाए किसान, उद्योगपति र राज्य सबै पक्षलाई घाटा हुने उखु विशेषज्ञ झाको दाबी छ।

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले सरकार जहिले पनि किसानको पक्षमा नरहेको र चिनी उत्पादकसँग मिलेर किसानलाई वर्षौँदेखि मूल्य निर्धारणको नाउमा पेल्ने काम गरेको आरोप लगाएका छन्।

उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनाली अबको उखु किसानको आन्दोलन मूल्य निर्धारण र अनुदान रकम बक्यौताको सवालमा निर्णायक आन्दोलनबाहेक अरु विकल्प नरहेको बताउँछन्। सरकारले उखुको मूल्य निर्धारण गरेको छैन तर रौतहटको बैजु सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु खरिद गरिरहेको छ। उद्योगले भुक्तानी रसिदमा प्रति क्विन्टल पाँच सय ४० रुपैया तोकेर उखु किनेको देखिएको छ। मूल्य निर्धारण नभएको अवस्थामा उद्योगले सरकारकै मिलेमतोमा पाँच सय ४० रुपैया मूल्य निर्धारण गरी किसानसित ठगी गरिरहेको आरोप मैनालीको छ।

मूल्य निर्धारणको बिषयमा देश भर किसानहरू आन्दोलन गरिरहेको अवस्थामा   चिनी उद्योगले  पुरानो मूल्यमा उखु किन्नु किसानलाई ठग्ने काम गरेको अध्यक्ष मैनालीको आरोप छ।  

प्रकाशित: १ पुस २०८० १५:३६ आइतबार

उखु किसान उखुको मूल्य निर्धारण उखु विशेषज्ञ जगदीश झा उखु उत्पादक महासंघ कपिलमुनि मैनाली