मंसिर २७ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका सिम्रौनगढ नगरपालिका-१ का लक्ष्मी बिन मुखियाको शव पाँच दिन पछि परिवारले आइतबार बुझेर दाहसंस्कार गरेका छन्।
पीडित परिवार र आफन्तले अघि सारेका मागहरुमा सहमति हुन नसक्दा मुखियाको शव पाँच दिन देखि नारायणी उपक्षेत्रीय अस्पतालको शव गृहमै राखिएको थियो।
जिल्ला प्रशासन कार्यालय बारामा पीडित परिवार र समर्थकहरुले राखेको माग पुरा गर्ने सहमति पछि मृतकका परिवारले शव बुझेका हुन्।
जिल्ला प्रशासन कार्यालय बारामा भएको लिखित सहमतिमा परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा रोजगारी दिने र दोषीलाई कारबाही गर्ने भएको बताइएपछि आफुहरुले छोरोको शव बुझेको मृतक लक्ष्मी बिन मुखियाको बुवा लखिन्द्र बिन मुखियाले बताए।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मृतकलाई नियम अनुसार राहत तथा क्षतिपूर्तिको लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने, मृतक परिवारलाई राहत तथा रोजगारीको व्यवस्था गर्ने, घटनाको अनुसन्धान गरी दोषी उपर कारबाहीको लागि बाराका सहायक प्रजिय कृष्ण आचार्यको संयोजकमा तीन सदस्य छानबिन समिति बनाउने र समितिले दिएको प्रतिवेदन अनुसार कारबाही गर्ने लगायतका पाँच बुन्दे लिखित सहमति पछि मुखियाको परिवारले शव बुझेर लगेको सुनाए।
सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयलाई लिएर भएको झडपमा प्रहरीको गोली लागेर मुखियाको मृत्यु भएको थियो।
मृतकका परिवार, आन्दोलनरत कर्मचारी र जनप्रतिनिधिहरुले मृतक मुखियालाई सहिद घोषण गर्नुपर्ने, नगर प्रमुख किशोर साह माथि कर्तव्य ज्यान मुद्दामा कारबाही गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनु पर्ने र सिम्रौनगढका प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने लगायत माग राखेर आन्दोलन गर्दै आएका थिए।
प्रकाशित: १ पुस २०८० १३:४८ आइतबार