समाज

जातीय छुवाछूत सम्बन्धी घटनाका आरोपित धरौटीमा छुटिन्

उर्लाबारी नगरपालिका-१ की ६२ वर्षीया शोभा सुन्दास (परियार) लाई दलित भएकै कारण मोरङ बुढीगंगा-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा पक्राउ परेकी आश्रमकी सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आचार्य धरौटीमा छुटेकी छन्।

जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको मंसिर २८ को  इजालसले १० हजार रुपैयाँ धरौटी माग गरेको र उक्त रकम धरौटी बुझाएर आचार्य छुटेको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले बताए।

दलित भएकै कारण आश्रममा नराखेको आरोप लगाउँदै आचार्यविरुद्ध मंसिर २० मा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरीले आचार्यलाई मंसिर २४ मा पक्राउ गरेको थियो।

यता आरोपित आचार्यले भने दलित भएका कारण नभई आश्रममा राख्ने ठाउँ नभएका कारण सुन्दासलाई राख्न नसकिएको बताउँदै आएकी छन्।

प्रकाशित: ३० मंसिर २०८० १०:५१ शनिबार

जागृति वृद्धाश्रम भुवनेश्वरी आचार्य शोभा सुन्दास