समाज

डुङ्गा संरक्षणमा जुटे रामेछापका माझी

कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रूपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन्। सडक विस्तार तथा पुलहरू निर्माण भएसँगै माझी जातिको पहिचानका रुपमा रहेको डुङ्गा लोप हुँदै गएपछि यहाँका माझी समुदाय संरक्षणमा जुटेको हुन्।

माझी समुदायको संस्कृतिसँग जोडिएको डुङ्गा तार्ने पेशा लोप हुन लगेपछि मन्थली नगरपालिका–७ स्थित सेलेघाटका माझी संरक्षणमा छुटेका छन्।

“केही वर्षपहिलेसम्म विभिन्न घाट तथा नदी वारिपारि गर्ने ठाउँमा डुङ्गा देख्न सकिन्थ्यो। आजभोलि कतै देखिंदैन”, स्थानीय धनबहादुर माझीले भने।

सुनकोसी र तामाकोसी नदीको सङ्गमस्थल त्रिवेणीमा धेरै डुङ्गा सञ्चालन हुने भएकाले उक्त ठाउँको नाम सेलेघाट रहन गएको उनले बताए।

झोलुङ्गे पुल, सडक, यातायातका साधनको पहुँच, स्थायी मोटरेवल पुललगायत पूर्वाधार निर्माण भएसँगै डुङ्गा विस्थापित हुँदै गएका धनबहादुरको भनाइ थियो।

पहिले डुङ्गा खियाउने र माछा मार्ने पेसा माझी समुदायको जीविकोपार्जनसँग जोडिएका मुख्य पहिचान भएको स्थानीय शङ्कर माझीले बताए। “राजा महेन्द्रको पालामा रामेछापमा पर्ने सुनकोसी र तामाकोसी नदी किनारका जमिन स्थानीय माझीलाई बिर्ता दिइएको थियो। सडक र पुल निर्माण हुनुअघि माझीहरुले मानिस र सामान वारिपारि गर्न ठेक्कामा काम गर्दथे”, उनले भने।

आधुनिकता आएसँगै सिमान्तकृत जातिमा पार्ने माझी समुदायको पहिचान सङ्कटमा पर्दै गएपछि युवा पुस्ता आफ्नो संस्कृतिको संरक्षण र पहिचानका लागि जुटेका मानवीर माझीले बताए। माझी जापतको संस्कृति र पहिचान संरक्षणका लागि लोप भइसकेको डुङ्गा पुनः सञ्चालनमा ल्याउन स्थानीय पालिका र सरोकारवालासँग छलफल भइरहेको उनले बताए।

जिल्लाको मन्थली, सेले, नवु, पुछि, हर्दिनीलगायत घाटमा केही वर्षअघिसम्म नियमित रुपमा डुङ्गा सञ्चालन हुने गरेकामा अधिकांश स्थानमा मोटरेवल पुल निर्माण भएसँगै डुङ्गा विस्थापित हुँदै गएका पूर्व शिक्षक एवं माझी समुदायका अगुमा सिरबहादुर माझीले बताए। उनका अनुसार डुङ्गा संरक्षणका लागि सेलेघाटमा प्रत्येक वर्ष जिल्लामा माझीले संयुक्त रुपमा डुङ्गा दौड प्रतियोगिता आयोजना गर्दै आएका छन्।

प्रकाशित: २८ मंसिर २०८० ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App