समाज

काठमाडौं महानगरमा आजदेखि सूर्तिजन्य पदार्थ बिक्रीमा रोक, नियम नमाने कारबाही

काठमाडौं महानगरपालिकामा आजदेखि सूर्तिजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय कार्यान्वयनमा आएको छ।

महानगरले ३२ वटै वडामा आजदेखि सूर्तिजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको हो।

यसअघि महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सूर्ति खान रोक लगाएको थियो।

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ।

प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ति, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सूर्तिजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो।

कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ। सूर्तिजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको स्वास्थ्य विभागका प्रमुख पौडेलले बताए।

महानगरले सार्वजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्कलगायत क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ। अटेर गर्नेलाई कारबाही गरिने काठमाडौं महानगरले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०८० ०५:१८ बुधबार

काठमाडौं महानगरपालिका सूर्तिजन्य पदार्थ बिक्रीमा रोक निर्णय कार्यान्वयनमा ३२ वटै वडा कारोबारमा प्रतिबन्ध स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल