समाज

हात्तीलाई पियानो कन्सर्ट

बेलायती नागरिक पल बर्टनले जीवनका महत्त्वपूर्ण समय घुमेरै बिताए। जब उनी थाइल्याण्ड पुगे, त्यहाँकी एक मनोरमासँग रमाउन थाले। उनी थिइन्, ख्वान। त, यी ख्वानसँग थाइलाण्डमै जीवन बिताउँदै जाँदा उनी थाइल्याण्डकै बने।

पलको एउटा खुबी थियो। उनी राम्रोसँग पियानो बजाउन जान्दथे। खासमा पियानो बजाएरै ख्वानलाई फकाए भन्दा पनि फरक पर्दैन।ख्वान चित्रकार हुन्। उनले पनि यतिञ्जेलसम्म जंगली जनावरका चित्र बनाएरै जीविकोपार्जन गरिरहेकी थिइन्। यसैमा नाम र दाम कमाइन्।

अचानक पललाई लाग्यो, ओहो हामी दुईले एक ज्यान भएर जीवन बिताउने कसम खाएको पनि निकै वर्ष भयो। जंगली जनावरको अभियन्ताका रुपमा ख्वानले पनि कयौं वर्ष बिताइन् भने नजिकैको एउटा हात्ती केन्द्रमा केही विशेष कार्यक्रम किन नगर्ने ?

नजिकैको हात्ती केन्द्रमा सन् ७० र ८० को दशकमा थाइल्याण्डमा बढ्दो जंगल फँडानीका क्रममा घाइते भएका हात्तीलाई ल्याइएको थियो। केहीका आँखा फुटेर देख्न सक्तैनन्। केही गम्भीर घाइते भएकाले हिँड्न सक्तैनन्।करिब दर्जनको संख्यामा रहेका यी हात्तीलाई किन आफ्नो कौशल नसुनाउने ? यसपछि उनले सो हात्ती केन्द्रमा आफ्नो पियानो कौशलता सुनाउने निधो गरे।

जब हात्तीलाई पियानो कन्सर्ट दिनेबारे सुनाए, हात्ती केन्द्रका कर्मचारीहरु पनि रमाए। कम्तीमा हात्तीका बारेमा सोच्ने यो विदेशी पनि रहेछ ! त्यसपछि छेउमा पियानो राखियो। पियानोको छेउमा रोगी हात्तीहरुलाई लाइनै उभ्याइयो। उनीहरुलाई मनपर्ने घाँस पस्किइयो।यसपछि पलले प्रख्यात संगीतकारहरुका सिर्जना बजाउन थाले।जब जब गज्जबका नोटहरु पलले बजाउँथे, केही हात्तीका कान ठाडा हुन्थे। केही हात्तीले सारा कन्सर्टलाई गम्भीरतापूर्वक लिए। केहीले भने वास्तै गरेनन्। 

तर हात्तीहरुले समग्रमा कन्सर्ट मन पराए भन्ने पलको धारणा छ।उनी भन्छन्, ‘तिनले हामीलाई खेदाउन पनि सक्थे नि, तर खेदाएनन्। शान्त भएर बसे, सुने। केहीले प्रतिक्रिया पनि जनाए। तर हामीलाई खेदाएनन्।’प्रस्तुति अच्युत कोइराला

प्रकाशित: २७ मंसिर २०८० ००:४९ बुधबार

कन्सर्ट हात्तीलाई पियानो कन्सर्ट हात्ती केन्द्र बेलायती नागरिक पल बर्टन थाइल्याण्ड कर्मचारी पियानो