समाज

रसुवामा पुनर्निर्माणका लागि ४ हजार बढी जनशक्ति बाहिरबाट ल्याइयो

रसुवा – भूकम्पले भत्किएका घर निर्माणका लागि जिल्लाका जनशक्तिले नपुगेपछि करिब ४ हजार जनशक्ति जिल्ला बाहिरबाट ल्याइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि एकसाथ घर निर्माण हुँदा जिल्लामा जनशक्तिको अभाव हुन पुगेको हो।

जिल्ला बाहिरबाट विशेषगरी सिकर्मी, डकर्मी तथा लेबर ल्याइएको छ। जिल्लामा अहिले करिब ५४ प्रतिशत भूकम्प पीडितले घर निर्माण गरिरहेका छन्। कामदारको अभाव हुँदा पुनर्निर्माण सुस्त बनेको भएपनि अहिले कामदार ल्याएर प्रभावितले घर निर्माणलाई गति दिएका छन्।

पार्वतीकुण्ड गाउँपालिका–३ गत्लाङका नबिन लामाका अनुसार गत्लाङमा मात्र घर बनाउनका लागि तीन सय भन्दा बढी जनशक्ति जिल्ला बाहिरबाट ल्याइएको छ। ‘गाउँमा काम गर्नका लागि पर्याप्त कामदार छैनन् उनले भने, घर छिटो सकाउनका लागि बाहिरबाट कामदार ल्याउन परेको हो।’ जिल्लाको पाँच ओटै स्थानीय तहमा बाहिरबाट कामदार ल्याइएको बताइएको छ।

प्रकाशित: ५ माघ २०७४ १५:०५ शुक्रबार

रसुवामा पुनर्निर्माणका लागि बढी जनशक्ति बाहिरबाट ल्याइयो