समाज

आमहड्तालको तेस्रो दिन पनि दाङ पुरै ठप्प

दाङ – प्रादेशिक राजधानी माग गर्दै गरिएको अनिश्चितकालीन आमहड्तालको तेस्रो दिन पनि दाङको जनजीवन प्रभावित बनेको छ।

प्रदेश नम्बर ५ को राजधानी रुपन्देही घोषणा गरिएपछि आक्रोशित दाङका आन्दोलनकारीको बन्दका कारण  शुक्रबार विहानै देखि यातायात, बजार, उद्योगधन्दा, शिक्षण संस्थाहरु सबै ठप्प छन्। आन्दोलनकारीले देउखुरीमा महेन्द्रराजमार्ग अवरुद्ध पारेर आन्दोलनलाई कडा बनाएका छन् भने प्रमुख व्यापारिक केन्द्र लमही र भालुवाङ बजारमा आन्दोलनकारीहरु बीच सडकमै बसेका छन्।

आन्दोलनले लामो दुरीमा चल्ने सवारी साधनहरु नचल्दा यात्रुहरु अलपत्र परेका छन्। यसैगरि जिल्ला सदरमुकाम घोराही र तुलसीपुर बजार पनि पूर्णरुपमा बन्द गरिएका छन्। तुलसीपुरमा गरिएको बन्दले तुलसीपुर हुँदै सल्यान र रुकुम जाने यातायात सेवा समेत ठप्प रहेको छ।

राजधानीका लागि विज्ञहरुले दाङलाई गरेको प्रस्तावलाई लत्याएर सरकारले रुपन्देहीलाई राजधानी घोषणा गरिएपछि दाङमा आक्रोश चुलिएको हो।

सरकारको पछिल्लो निर्णय फिर्ताका लागि दबाब दिन शुक्रबार देखि आन्दोलनको नेतृत्व प्रमुख दलहरुले लिएका छन्। दलहरुले संघर्ष समिति निर्माण गरेर आन्दोलनलाई कडा बनाउने निर्णय गरेका छन्। उनिहरुले महेन्द्र राजमार्ग केन्द्रीत आन्दोलनलाई सशक्त बनाउने निर्णय समेत गरेका छन्।

यसअघि सम्म बिहान देखि बेलुका सम्म मात्रै बन्दको कार्यक्रम तय गरिएको भएपनि अब भने रातभर पनि बन्द गरिने भएको छ। यसअघि राजधानी सरोकार समितिको नेतृत्वमा आन्दोलन भैरहेको थियो।   

 

 

प्रकाशित: ५ माघ २०७४ ०४:०६ शुक्रबार

आमहड्तालको तेस्रो दाङ पुरै ठप्प