समाज

विवाह महोत्सव सुरु, अन्नबाट ११ हजार ११ स्क्वायर फिटको मूर्ति बनाइँदै

सिताराम विवाह महोत्सवको अवसर पारेर जनकपुरमा पहिलोपटक अन्नको प्रयोग गरेर ११ हजार ११ स्क्वायर फिटको मूर्ति बनाइँदै छ।

जनकपुरधामको बाह्रबिघा मैदानमा अन्नको प्रयोगले ११ हजार ११ स्क्वायर फिटको मूर्ति बनाउन लागिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का शितल साहले जानकारी दिए।

उनका अनुसार मंसिर २४ गते बाह्रबिघाको उत्तर पूर्व कुनामा अन्नको मुर्ति बनाउन थालिएको हो। मूर्ति तयारी गर्न अझै दुईतीन लाग्न सक्छ। जनकपुरमा हुने विवाह पञ्चमीलाई विश्वभर चिनाउन र कीर्तिमान कायम गर्न अन्नको मूर्ति बनाउन लागिएको अध्यक्ष साहले बताए।

यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० स्क्वायर फिटको मूर्ति बनाएर विश्व रेकर्ड बनाइएको थियो। जनकपुरमा ११ हजार ११ स्क्वायर फिट मूति बन्नेसँगै विश्वमै सबै भन्दा ठुलो अन्नको मुर्ति बनाउने कीर्तिमान जनकपुरको नाममा हुनेछ।

मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट आठजना कालिगड बोलाइएको छ भने दुईजना नेपाली पनि सहभागी छन्।

‘मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुन्छ। मूर्तिका लागि कुनै रङ्ग प्रयोग हुने छैन। जहाँ जुन रङ्गको आवश्यकता पर्छ, सोही रङ्गको अन्न प्रयोग गरिन्छ’ साहले भने। सो मूर्ति बनाउन ७० क्विन्टल अन्न लाग्ने अनुमान गरिएको छ।’

मूर्ति निर्माणका लागि जनकपुर बृहत्तर क्षेत्र विकास कोष,उद्योग वाणिज्य सङ्घ र जनकपुरधाम उपमहानगरपालिकाले अगुवाइ गरिरहेको छ।

साताव्यापी मनाउने सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि सुरु भएको छ। पहिलो दिन ’नगर दर्शन’ कार्यक्रम हुनेछ। दोस्रो दिन फूलबारी लीला (विवाह मण्डपको फूलबारीमा), तेस्रो दिन धनुषयज्ञ (रंगभूमि मैदानमा), चौथो दिन तिलकोत्सव (राम मन्दिर परिसरमा) र पाँचौँ दिन मटकोर (गंगासागर पोखरी घाटमा)मा गरिनेछ। छैटौँ दिन अर्थात् पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन (राम कलेवा) कार्यक्रम भएपछि विवाह पंञ्चमी सम्पन्न हुनेछ।

प्रकाशित: २६ मंसिर २०८० ०५:३६ मंगलबार

जनकपुर सिताराम विवाह महोत्सव अन्नको प्रयोग गरेर ११ हजार ११ स्क्वायर फिटको मूति बनाइँदै बाह्रबिघा मैदान मूर्ति विश्व रेकर्ड