समाज

हल्का वर्षा र मध्यम हिमपातले तापक्रम घट्ने, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुने जनाएको छ। साथै देशका पहाडी भू–भागमध्ये केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।

आगामी २४ घण्टाको मौसमी पूर्वानुमान गर्दै सम्भावित मौसमका कारण देशभरिको तापक्रम केही घट्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह पनि गरेको छ।

महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै उल्लेखित मौसम पूर्वानुमान गरेको हो। 

यसैगरी तराईका केही स्थानहरूमा मंगलवार बिहानदेखि हुस्सु र कुहिरो लागेको जानकारी पनि दिइएको छ।

यसैगरी बुधवार दिउँसो र राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने जनाइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बिहीबार दिउँसो भने कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८० ०१:२७ मंगलबार

मौसम पूर्वानुमान महाशाखा उच्च पहाडी तथा हिमाली भू–भाग हल्कादेखि मध्यम खालको हिमपात पहाडी भू–भाग हल्का वर्षाको सम्भावना मौसमी पूर्वानुमान