सूर्यमुखी फूल त त्यसै पनि सूर्य जताजता जान्छ, उतैउतै आफ्नो अनुहार देखाउँछ भनेर प्रख्यात छ। सूर्यमुखी मात्र नभएर प्रकाश भएतिर आफूलाई लैजाने विरुवाहरूमा प्रायः सबैजसो पर्छन्। विरुवा हुर्कन सूर्यको किरण अति नै आवश्यक मानिन्छ। त्यसैले उनीहरू प्रकाश भएतिर उनीहरू सोझिन्छन्। सूर्यतर्फ तेर्सिने विरुवाहरूको यो प्रक्रियालाई फोटोट्रोपिज्म भनिन्छ।
प्रकाशलाई केन्द्रमा राखेर हुने यस्तो गतिशीलताबारे सबैभन्दा पहिले चार्ल्स डार्बिन र उनका छोराले पत्ता लगाएका थिए। १९ औं शताब्दी सकिनै लाग्दा उनीहरूको संकलनमा रहेको एउटा बिरुवा मैनबत्तीको उज्यालोतिर तेर्सिन खोजेको पत्ता लगाएका थिए। फोटोट्रोपिज्मका लागि बिरुवामा हुने फोटो रिसेप्टरले सहयोग गर्ने गरेको हालै प्रकाशित ’साइन्स म्यागेजिन’ले जनाएको छ।
अध्ययनमा संलग्न क्रिस्टियन फांकहाइजर भन्छन्, ’फोटोरिसेप्टरले प्रायः त्यस्तै काम गर्छ, जुन मानिस वा अन्य जनावरको आँखामा पाइने रिसेप्टरले गर्छन् तर मानिसका रिसेप्टर र बिरुवाका रिसेप्टरमा धेरै फरक हुन्छ।
लुजान विश्वविद्यालयका अनुसन्धाता फांकहाइजर भन्छन्, ’पहिलो अन्तर त मानिस र जनावरको आँखाको रिसेप्टर आँखैमा सीमित हुन्छ तर बिरुवाको रिसेप्टरचाहिँ टाउकोदेखि पुच्छरसम्मै ढाकिएको हुन्छ।
यसको अर्थ, बिरुवाले चारैतिरबाट देख्न सक्छन्। यस अर्थमा बिरुवाको आँखा शरीरभरि नै हुन्छन्। अर्को फरकचाहिं मानिस र अन्य जनावरले केही कुरा देख्दा प्रस्टै देख्छन् तर बिरुवाले भने प्रकाशको अस्तित्वका अतिरिक्त, प्रकाशको मात्रा, रङ, अवधि र दिशा पत्ता लगाउन सक्छन्।
फोटोरिसेप्टरको काम गर्ने तरिकालाई फोटोट्रोपिन्स भनिन्छ। यो सोलर प्यानलजस्तै हुन्छ। यसैमार्फत बिरुवाले देख्छ। अझै वैज्ञानिकहरूले फोटोट्रोपिन्सभित्र के हुन्छ र त्यसले आँखाको काम गरिहेको छ भन्ने पत्ता लगाउन सकेका छैनन्। कतै तपाईंले त्यो काम गर्ने हो कि?
-अच्युत कोइराला
प्रकाशित: २५ मंसिर २०८० ०५:५८ सोमबार