समाज

हत्यारा पक्राउको आश्वासन पछि आन्दोलन फिर्ता

कलैया उपमहानगरपालिका–६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न मुख्य योजनाकार ‘सुटर’ लाई पक्राउको माग गर्दै विगत ४१ दिनदेखि चलिरहेको आन्दोलन फिर्ता लिइएको छ।

नेसनल प्याब्सन बाराका अध्यक्ष प्रभुलाल प्रसाद कुशवाहा र प्याब्सन बाराका अध्यक्ष नेत्र प्रसाद दाहालले संयुक्त रुपमा आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिएको जानकारी दिएका हुन्।

बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले रुपेशकाे हत्यामा संलग्न मुख्य व्यक्तिलाई यथाशीघ्र नियन्त्रणमा लिई घटनबारे सत्य तथ्य सार्वजनिक गर्ने आश्वासन दिएपछि आन्दोलन फिर्ता गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

रुपेशको हत्यारा पक्राउ गर्नुपर्ने र घटनाको सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग सहित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन बाराको नेतृत्वमा आन्दोलन हुँदै आएको थियो।

गत कात्तिक १३ गते सोमबार पौने १ बजेको समयमा सरार्फ माथि कलैयाको मदार्सा टोलमा अज्ञात समूहले गोली प्रहार गरि हत्या गरेका थिए। सरार्फलाई गोली प्रहार गर्ने मुख्य ‘सुटर’ बाहेक घटनामा संलग्न रहेका अधिकांशलाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रकाशित: २४ मंसिर २०८० १४:१० आइतबार