समाज

प्रधानाध्यापक नियुक्ति नगर्न उच्च अदालतको आदेश

जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक नियुक्ति गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आदेश गरेको छ।

गाउँपालिकाले परीक्षा लिएर प्रधानाध्यापक नियुक्ति गरेको विषयमा घुसपैठ भएको भन्दै शिक्षकहरूले उच्च अदालत जुम्लामा रिट दायर गरेका थिए। उक्त रिटमा उच्चले अन्तरिम आदेश दिँदै सो निर्णय कार्यान्वयन नगर्न भनेको हो।

गाउँपालिकाले गत असोज २२ गते विद्यालयका प्रअका लागि परीक्षा लिएको थियो। परीक्षा निष्पक्ष नभएको र प्रश्न पत्र पहिलै नै ‘आउट’ गरेर आफू अनुकूलका व्यक्तिलाई पास गराएको भन्दै शिक्षकहरू उच्च अदालत सम्म पुगेका थिए। शिक्षा ऐन २०५९ विरुद्ध गई परीक्षा लिइएको शिक्षकहरुको भनाइ थियो।

शिक्षा नियमावली २०५९ को नियम ९३ मा प्रअका लागि सम्बन्धित तहमा नियुक्ति भएको शिक्षक उम्मेदवार हुन पाउने उल्लेख छ। तर गाउँपालिकाको शिक्षा समितिले लिएको प्रअ परीक्षामा सबै निमावि र प्रावि तहका शिक्षकलाई माध्यमिक तहका विद्यालयको प्रअमा नियुक्ति गरेको छ।

शिक्षा नियमावलीलाई बेवास्ता गरेको, आफू खुसी निर्णय गरेको र आफ्नो दलका भातृ सङ्गठनमा आबद्धलाई  प्रअ बनाएको भन्दै गाउँपालिका र शिक्षा समितिलाई विपक्ष बनाएर असन्तुष्ट शिक्षक अदालत पुगेका थिए।

गाउँपालिकाकै पहिलो पन्चदेवल माविमा निमावि तहका शिक्षक दुर्गबहादुर बुढालाई प्रअको जिम्मेवारी तोकिएको थियो। शान्नीत्रिवेणी गाउँपालिकामा आठ वटा माध्यमिक विद्यालय रहेका छन्। जसमा सबै विद्यालयमा प्रावि र निमावि तहका शिक्षकलाई प्रशासन सञ्चालनको जिम्मेवारी तोकिएको छ।

प्रकाशित: २४ मंसिर २०८० १३:०८ आइतबार