समाज

भक्तपुरको नैचालमा बुद्ध मूर्ति स्थापनाको तयारी

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ गुम्वाडाँंडा नैचालमा झन्डै दुई सय घरधुरीहरू रहेका छन्।

तामाङ बस्ती रहेको पहाडको यो ठाउँमा कुनै पनि मठमन्दिरहरू छैनन्।सहरबाट निकै टाढा दूर दराजको जंगलको बिचमा रहेको यो बस्तीमा त्यति शिक्षित मानिस पनि छैनन्। यही कारण बालबालिकाहरू पनि भटीमा जाने अनि जथाभाबी हिडने बाल बालिकाको बानीले गाउँका अगुवा चिन्तित छन्।यही समस्या समाधानका लागि भन्दै अहिले उनीहरु गाउँमा एउटा बुद्ध मूर्ति विहार बनाउने योजनामा अगाडि बढेका छन्। 

स्थानीय वीर बहादुर तामाङले यही कारण गाउँमा एउटा बुद्ध मूर्ति स्थापना गरी विहार निर्माण गर्ने योजना रहेको सुनाए।यसका लागि आफूहरूले नजिकैको पर्ती जग्गा मिलाएको उनले सुनाए।भक्तपुरमा पाइलै पिच्छ मठमन्दिरहरू छन्, उनले भने, यही कारणले पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा त्यहाँका मानिस तुलनात्मक रुपमा अलिकति सभ्य भएको हाम्रो बुझाई छ। 

गाउँमै मठमन्दिर वा कुनै धार्मिक स्थल भएपछि यही कारणले पाप गर्नु हुँदैन, लुटेर खानु हुँदैन, सबैलाई सहयोग गर्नुपर्छ भन्ने मान्यता बस्ने उनीहरूको मान्यता छ।यही मान्यताबाट अगाडि बढेर आफूहरूको ठाउँ र स्थानीयबासी पनि सभ्य, सुसंस्कृत, नैतिक वान होस् भन्ने हेतुले बुद्ध मूर्ति स्थापना गरी विहार बनाउने योजना रहेको उनीहरुले सुनाए ।यसका लागि इनाचो बुद्ध विहार भक्तपुरमा सम्पर्क गरी बुद्ध मूर्तिको पनि प्रबन्ध मिलिसकेको उनीहरुले जनाए। 

इनाचो मुनि विहार भक्तपुर व्यवस्थापन समितिका सचिव शिवप्रसाद बालाले स्थानीयको अनुरोध अनुसार एउटा बुद्ध मूर्तिको व्यवस्था भइसकेको बताए । पाँच फिट अग्लो बुद्धको धातुको मूर्ति तयार भइसकेको उनले सुनाए।अव स्थापना गर्न लान मात्रै बाँकी छ, उनले भने, केही दिनमै स्थापना गर्न लाने योजना छ। 

ठाउँको सुनिश्चितता गरी बुद्ध मूर्ति लगेर थन्काउन नपर्ने गरी ठाउँ व्यवस्थापन गरेपछि बुद्ध मूर्ति स्थापना गर्ने योजना रहेको उनले सुनाए।बुद्ध मूर्तिलाई गाडीमा राखेर केही लावालस्करसहित स्थानीयको भव्य सहभागितामा बुद्ध मूर्ति प्रतिस्थापन गर्ने योजना रहेको उनले सुनाए।त्यसपछि बौद्ध शिक्षा प्रदानका लागि बौद्ध विहारको निर्माण गर्ने योजना रहेको पनि उनले सुनाए। 

यो ठाउँमा अहिले बर्माबाट फर्केका भिक्षु एकान्त बासमा छन्।दिनभरि जंगलमा ध्यानमा बस्ने उनी रातको समयमा यही ठाउँमा रहेको एउटा सार्वजनिक घरमा बसिरहेका छन्।एकछाकी उनलाई गाउँंलले दिनमा एक पटक विहान पालैपालो भोजन दिने गर्दै आएका छन्।

यो ठाउँ अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीबाट झन्डै १२ किलोमिटर दक्षिण पहाडको ठाउँमा छ।जगाती भएर प्रख्यात डोलेश्वर मन्दिर हुँदै जंगलैजंगलको बाटोबाट ठाडो उकालो पुगेपछि यो ठाउँमा पुगिन्छ।गाउँको बाटो, ठाडो उकालोको बाटो भएकाले मोटरसाइकलमै पुग्न पनि झन्डै जगातीबाट एक घण्टा लाग्छ।  

प्रकाशित: २१ मंसिर २०८० १३:२६ बिहीबार

मठमन्दिर नैचाल सूर्य विनायक नगरपालिका गुम्वाडाँंडा बुद्ध मूर्ति