समाज

एनसेलको सेयर बिक्री रोक्न अदालतको अन्तरिम आदेश

आजियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेपछि विवाद भइरहेको अवस्थामा उच्च अदालत पाटनले एनसेलको सेयर बिक्री नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

कानुन व्यवसायी गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले सेयर बिक्री कारोबार नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ।

अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा लागि समेत बोलाएको छ।

दूरसञ्चार प्राधिकरणले पूर्व स्वीकृत बिना सेयर खरिद बिक्री नगर्नु भनी पत्र लेख्दा लेख्दै पनि विपक्षीले सरकारलाई तिर्नु/बुझाउनुपर्ने कर पुँजीगत लाभकर समेत छल्ने उद्देश्यबाट विदेशमा कम्पनी खोली सेयर बिक्री गरेको हुँदा गैर कानुनी कारोबार भएको भन्दै यसलाई कानुनी मान्यता नदिन माग सहित रोकायले अदालतमा रिट दायर गरेका थिए। यसलाई कानुनी मान्यता दिन नमिल्ने उनको जिकिर छ।

विपक्षी आजिएटाले बुझाउनुपर्ने पुँजीगत लाभकर विदेशी मुद्रा नेपालमा पठाई तिर्नु बुझाउनु पर्नेमा ठूलो मात्रमा विदेशी मुद्रा अपचलन गरी सेयर धनी मिली एनसेलले नेपालमा आर्जन गरेको नेपाली मुद्राबाट पुँजीगत लाभकर तिरेको समेत रिटमा दाबी गरिएको थियो।

प्रकाशित: २१ मंसिर २०८० १२:१५ बिहीबार

एनसेल