समाज

यलमाया केन्द्रले गोली लागेको विद्युत् खम्बा फिर्ता दियो

तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमणमा छियाछिया भएको बिजुलीको (खम्बा) यालमाया केन्द्रले बेनी नगरपालिकालाई फिर्ता दिएको छ।

मानव अधिकारकर्मी कनकमणि दीक्षितले सामाजिक सञ्जाल एक्समा बिहीबार लेख्दै पोल संरक्षणको योजना बनाएकोमा बेनी नगरपालिकालाई धन्यवादसमेत दिएका छन्।

२०६७ असोज २१ गते बेनीको मंगलाघाट जाने बाटोमा तत्कालीन सेनाको ब्यारेकअगाडि दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोल सुटुक्क लगेपछि फिर्ता प्रयास सफल भएको थिएन।

केन्द्रका सञ्चालक दीक्षितसँगको भेटमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले युद्धको सन्देश नदिने र शान्तिको कामना राख्ने गरी दिने प्रतिबद्धता जनाएपछि पोल फिर्ता प्रक्रिया सुरु भएको थियो।

पोल लिन बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेलसहितको टोली केन्द्रमा पुगेका छन्। २०६० चैत ७ गते तत्कालीन समयमा माओवादीले बेनी आक्रमण गरेको २० वर्ष पूरा हुँदै छ। युद्धका अवशेष नयाँ पुस्ता र विदेशीलाई युद्ध संग्रहालयमार्फत आकर्षित गर्ने योजना रहेको बेनी नगरपालिका प्रमुख सुरत केसीले बताए। पोल फिर्ता ल्याउन पहल गर्नुका साथै शान्ति पार्क बनाउने र पोल राख्ने बजेट सुनिश्चित गराउँदै नगरपालिकाले चासो देखाएको थियो।

बेनी नगरपालिकाले-७ नं वडाको वीरेन्द्रचोकमा निर्माण गर्न लागिएको शान्ति पार्कमा ‘द्वन्द्वकालीन युद्ध स्मारक’ का रूपमा संरक्षण गर्न चाहेकाले पोल फिर्ता गरिदिन जिल्ला समन्वय समितिमार्फत मदन पुरस्कार पुस्तकालयलाई पत्राचार गरिएको थियो। 

डिभिजन वन कार्यालयसँगै जोडिएको सार्वजनिक र बराहपाखो सामुदायिक वनको करिब १० रोपनी क्षेत्रफलमा शान्ति पार्क र चिल्ड्रेन पार्क बनाउने र बेनी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी संरचना बनाउने गरी अगाडि बढेको छ। यसका लागि मोना अन्तर्राष्ट्रियले समेत चासो देखाएको छ।

बेनी आक्रमणमा माओवादीका नौवटा बटालियनका चार हजार पाँच सय लडाकु र एक हजार नौ सय स्वयंसेवक संलग्न थिए। माओवादीले बेनी आक्रमणमा ६६ वटा एके– ४७ राइफल प्रयोग गरेका थिए। तत्कालीन माओवादी र राज्यबिच सबैभन्दा ठुलो आक्रमण बेनीमा भएको थियो। बेनी आक्रमणको १९ वर्ष पूरा भएको छ।

प्रकाशित: २१ मंसिर २०८० ०८:१६ बिहीबार

बिजुलीको खम्बा बेनी आक्रमण यालमाया केन्द्र मदन पुस्तकालय गुठी