समाज

खैनी चुरोट खान्छौँ की ?

सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने तयारी गरेको काठमाडौँ महानगरपालिकाले यस्ता पदार्थ जफत गर्ने भएको छ। महानगरले जफत गर्नु अघि १५ दिनको म्याद राखी रोक लगाउने तयारी गरेको छ। यो अवधिमा बिक्री वितरण  गर्ने डिलर तथा खुद्रा पसलेहरूलाई सूचना दिने कार्य भइरहेको छ।

महानगरले एक साता अघि सूचना जारी गरेको थियो। सूचना जानकारी नपाउने समूहको लागि टोल–टोलमा पुगेर माइकिङ गर्ने कार्य जारी राखेको काठमाडौँ महानगरको नगरी प्रहरीका निमित्त प्रमुख विष्णु प्रसाद जोशीले बताए। ‘कतिले सूचना थाहा नपाएका हुन सक्छन्, हामीले जारी गरिसकेका छौ’ उनले भने।

महानगरभित्र रहेका कुनै पनि पसलमा सुर्ती, गुट्खा, खैनी, चुरोट विक्री गरेको या विक्री गर्न राखिएको देखेमा स्वतः जफत गर्नेछ। जफत गर्नको लागि पाँच वटा क्षेत्र तोकिएकाे छ। जस अनुसार पूर्व, पश्चिम, उत्तर, मध्य र केन्द्र छन्। यी क्षेत्रमा दुई वटा टोलीको दरले दैनिक अनुगमन हुनेछ। कुनै पनि पसलमा सुर्तीजन्य पदार्थ विक्री गरेको पाइएमा सिधै जफत गरिने नगर प्रहरी निमित्त प्रमुख जोशीले बताए।

पहिलो चरणको अनुगमनमा जफत गरेपछि पनि लुकिछिपी विक्री गरेको पाइएमा खानतलासी गरेरै जफत गर्ने दोस्रो चरणको कार्यक्रम रहेको र यो अभियान निरन्तर जारी रहने जोशीले जानकारी दिए।

जनस्वास्थ्य ऐन अनुसार मठमन्दिर, स्कुल, कलेज या कुनै पनि सार्वजनिक स्थानको २ सय मिटर भित्र बिक्री गरेको या प्रयोग गरेको पाइएमा थप कारबाही हुने जानकारी दिए। 

सार्वजनिक स्थलमा धुमपान गरेको पाइएमा पहिलो चरणमा सम्झाइने र अटेरी गरेको पाइएमा कानुन बमोजिम दण्ड जरिवाना गरिने उनले जानकारी दिए। त्यसैगरी सार्वजनिक स्थलबाट २ सय मिटर पर पनि खुद्रामा चुरोट बिक्री गरेको पाइएमा स्वतः कारबाही हुनेछ।

प्रकाशित: २१ मंसिर २०८० ०८:०७ बिहीबार

काठमाडौं महानगरपालिका सुर्तीजन्य पदार्थ